काठमाडौं, माघ २० । सरकारले आम सञ्चार नीतिमा पुनरावलोकनका लागि समिति गठन गरेको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नयाँ सञ्चार नीतिको मस्यौदा बनाउन कानुनविद् काशिराज दाहालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की र नेपाल पत्रकार महासंघका अध्यक्ष डा। महेन्द्र विष्ट सदस्य छन् । समितिलाई तीन महिनाभित्र मस्यौदा बुझाउन समय दिईएको छ । बैठकले चीनको सिचुवान प्रान्तमा वाणिज्य दूतावास खोल्नका लागि चीन सरकारलाई औपचारिक आग्रह गर्ने निर्णय गरेको छ । बैठकले निजामती कर्मचारी र जंगी सेवाका कर्मचारीको पनि पदस्थापन, सरुवा र बढुवा गर्ने निर्णय समेत गरेको छ ।