अशोक तिवारी बिरगञ्ज माघ २२ । मधेशी मोर्चाको ५ महिना लामो आन्दोलनसँगै सुरु भएको नाकाबन्दी आजबाट हटेको छ । मधेशी मोर्चाको एउटा बलियो घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बिहिबार अन्य नाका बन्द गर्न नसके बिरगञ्ज नाका पनि खोल्नु पर्ने बताएको २४ घण्टा नबित्दै बिरगञ्जनाका खुलेको हो ।औपचारीकरुपमा नाका बन्दी खोल्ने निर्णय भएको राष्ट्रिय मधेश समाजबादी पार्टीका केन्द्रिय सदस्य राजेशमान श्रेष्ठले सञ्चारखवरलाई जानकारी दिनु भयो । नाका खुले सँगै भारतीय क्षेत्रमा महिनौदेखि रोकिएका मालबाहक सवारी साधनहरु नेपाल भित्रन थालेका छन् । दिउँसोबाट धर्नामा बसेका आन्दोलनकारी समेत त्यहाँबाट हटेपछि भन्सार कार्यालयले दैनिक कार्यसम्पादन सुरु गरेको छ ।
अहिले मेत्तेरी पुलमा सशस्त्र प्रहरीको टोली बसेको छ भने व्यापारीहरुले भारतबाट नेपालतर्फ सामान ल्याइरहेका छन् । यो संगै गएको ५ महिनादेखि अवरुद्ध वीरगञ्ज रक्सौल नाका आज निक्कै सहज भएको छ ।