चितवन, २३ माघ । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एक, दुई जनाका कारण संगठनकै बदनाम गराएको बताउनु भएको छ । उहाँले हरेक स्थानमा एकाध खराव ब्यक्ति हुने भन्दै प्रहरी संगठन भित्रपनि त्यो प्रबृत्तिका मानिस भएकाले प्रहरीलाई लगत नजरले नहेरी दिन आग्रह गर्नु भयो ।
जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आज आयोजित नवनिर्मित प्रहरी आवास गृहको उद्घाटन गर्दै उहाँले चितवन, काठमाडौं र ललितपुरमा प्रहरीबाट भएका क्रियाकलापप्रति दुःख व्यक्त गर्नुभयो ।
तालिम केन्द्रले सङ्गठनमा असल प्रहरी उत्पादन गर्ने भन्दै उहाँले यस खालका क्रियाकलाप न्यूनीकरण गर्ने तर्फ सङ्गठन लागिपर्ने बताउनुभयो । उहाँले प्रहरीलाई ज्ञान र सीपसँगै व्यवहार र विचारमा पनि परिवर्तन गराउन आवश्यक रहेको बताउनु भयो।
कार्यक्रममा महानिरीक्षक अर्यालले संरक्षण गरिएका बालबालिकालाई लत्ताकपडा वितरण गर्नुभएको थियो भने चेपाङ बालबालिकालाई आर्थिक सहयोग तथा कपडा वितरण गर्नुभएको थियो । सोही अवसरमा रक्तदान कार्यक्रम समेत गरिएको थियो ।