अनेरास्ववियु २२ औँ राष्ट्रिय सम्मेलन आज शुरु हुँदै

0
433

नेकपा एमाले निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २२ औँ राष्ट्रिय सम्मेलन आज शुरु हुँदैछ ।
सम्मेलन काठमाडौँको भृकुटीमण्डपमा नेकपा (एमाले) का अध्यक्ष एबं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनको तयारी पूरा भए पनि पूर्बप्रधानमन्त्री सुशील कोइरालाको निधनका कारण एक दिन ढिलो गरी आज शुरु गर्न लागिएको हो ।
‘परिश्रमी र प्राज्ञिक जनशक्तिको विकास, राष्ट्रनिर्माणको आधार ः सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन अनेरास्ववियुको सरोकार’ भन्ने मूल नाराका साथ फागुन १ गतेसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनमा संस्थापनबाट नवीना लामा र माधवकुमार नेपाल पक्षबाट दीपक गौतमबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको छ । लामा समूहबाट उपाध्यक्षमा महेश बर्तौला, रश्मि आचार्य, सुनिता बराल र शैलेश लामा तथा महासचिवमा ऐन महरको नाम घोषणा गरिएको छ ।
गौतम समूहबाट उपाध्यक्षमा जीवन राई, राधिका खतिवडा, सरोज यादव, नीलकण्ठ आचार्य तथा महासचिवमा अब्दुलहुसेन खाँको उम्मेदवारी टुंगो लागेको छ ।
सम्मेलनमा भाग लिन देशभरबाट एक हजार ५०० प्रतिनिधि काठमाडौँमा आइसकेको  प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो ।