फागुन ३, नेपाली कांग्रेसको आज तराईका ८ जिल्लामा अधिवेशन हुँदैछ ।
सभापति सुशील कोइरालाको निधनका कारण स्थगित भएको कांग्रेसको क्षेत्रीय र जिल्ला अधिवेशन हुने क्रम सुरु भएको हो ।
आज सर्लाहीको क्षेत्रीय अधिवेशन गर्ने तयारी रहेको छ ।
त्यसैगरी गाउँ र नगर स्तरिय अधिवेशन सम्पन्न गरेर क्षेत्रीय अधिवेशन गर्न बाँकी पर्सा जिल्लाका सबै क्षेत्रमा जिल्ला निर्वाचन अधिकृत फर्किएपछि मात्रै क्षेत्र र जिल्ला अधिवेशनको मिति तय हुनेछ ।
त्यस्तै, बाराका सबै नगरपालिकामा भोलि र क्षेत्रीय अधिवेशन ८ गते गर्ने तयारी भइरहेको छ ।
तराइ मधेसमा आन्दोलनरत मधेसी मोर्चाको प्रतिनिधि आमसभा ७ गतेका लागि तय भएको कारण कार्यक्रम नजुधाउन कांग्रेसले ८ गते मात्रै क्षेत्रीय अधिवेशन गर्ने निर्णय गरेको छ ।
महोत्तरीमा फागुन ७ वा ८ गतेसम्ममा गर्ने तयारी भइरहेको छ ।
मधेसी मोर्चाका कार्यकर्ताका साथै कांग्रेसकै दुई पक्षबीचको मतभेदका कारण विवादस्पद रहेको धनुषा जिल्लामा निर्वाचन अधिकृत नै बदल्नु पर्ने माग गरेको कारण क्षेत्र र जिल्लाको अधिवेशनको मिति अझै टुंगो लाग्न सकेको छैन ।
त्यस्तै, चितवनमा पनि आजै जिल्ला अधिवेशन हुँदैछ । आज अन्य जिल्लाहरुमा पनि अधिवेशन हुने कांग्रेसले जनाएको छ । काठमाडौँ जिल्ला अधिवेशन भोलि र पर्सी हुने भएको छ ।
कांग्रेसले १३ औं महाधिबेशन फागुन २० गते नै शुरु गर्ने निर्णय गरेको छ ।