काठमाण्डौ फागुन ५ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरीत ‘अन टेस्ट’ अर्थात ‘परीक्षणमा’ रहेका सवारी साधनले यात्रु बोकेर हिँड्ने क्रम बढेको पाइएको छ ।
सार्वजनिक सवारी साधनमा तोकिएभन्दा बढी भाडा लिए÷नलिएको अनुगमन गर्न निस्किएको यातायात व्यवस्था विभागको अनुगमन टोलीले अन टेस्ट लेखी गुडाएका २० चारपाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिएको छ ।
“गाडी आयात गर्ने कम्पनीले हरियो प्लेटमा १५ दिनसम्म परीक्षणमा लेखी भन्सारबाट भित्र्याएर सवारी दर्ता गरिसक्नुपर्ने कानुनी व्यवस्था भएपनि महिनौँसम्म त्यस्ता सवारी दर्ता नभएको पाइएको अनुगमन शाखा प्रमुख तथा विभागका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका सवारीलाई ५ हजारका दरले जरिवाना गरिएको विभागले जनाएको छ ।