संस्थापन पक्षको सभापतिमा पौडेल र महामन्त्रीमा कोइरालाको उम्मेदवारी घोषणा

0
358
g]kfnL sfªu|];sf] !# cf}F dxflwj]zgdf kf6L{ s]Gb|Lo sfof{no ;fg]kf nlntk'/df ;efkltsf kbsf nflu pDd]bjf/Lsf] 3f]if0ff sfo{qmddf ;xefuL g]sfsf g]tfx? . tl:a/ M /f]zg ;fksf]6f,/f;;

काठमाडौँ । नेपाली काँग्रेसको आसन्न १३ औँ महाधिवेशनका लागि कार्यवाहक सभापति रामचन्द्र पौडेलले सभापतिमा र केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले महामन्त्री पदमा उम्मेदवारी दिनुभएको छ ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज आयोजित घोषणा सभामा हजारौँ कार्यकर्तामाझ दुवै नेताले आ–आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । सभामा कावा सभापति पौडेलले काँग्रेसलाई नयाँ ऊर्जा दिन र पार्टीलाई शुद्धीकरण गर्न उम्मेदवारी दिनुपरेको बताउनुभयो ।

उहाँले संविधानसभाबाट जारी भएको समावेशी संविधान काँग्रेसका अग्रजको सपना हो भन्दै त्यसको सफल कार्यान्वयन र आर्थिक समृद्धि अबको प्रमुख एजेन्डा भएको स्पष्ट गर्नुभयो ।

प्रजातान्त्रिक समाजवादको दर्शनले मात्र मुलुकको अहिलेको आर्थिक र सामाजिक परिवर्तनलाई उचित व्यवस्थापन गर्न सकिनेमा जोड दिँदै कावा सभापति पौडेलले भन्नुभयो, “राष्ट्रको समस्त रुपान्तरणका लागि मैले नेतृत्व गर्ने अठोट गरेको हुँ ।”

“बिपी पुत्र शशाङ्क र गणेशमान पुत्र प्रकाशमान सिंहलगायतको साथ र सहयोगले मलाई ठूलो बल मिलेको छ र काँग्रेसको मूलधार पनि यही हो” – उहाँले भन्नुभयो ।

आफूले सबैलाई सँगै लिएर अघि बढ्न भरमग्दुर कोसिस गरेको तर केही साथीमा विचलन आएको बताउँदै उहाँले जुझारु नेता कार्यकर्तालाई पार्टीको महत्वपूर्ण अवसर दिन तयार रहेको अवगत गराउनुभयो ।

दिवङ्गत पार्टी सभापति सुशील कोइरालाको सपनाबमोजिम पार्टीलाई बचाउने वाचा गर्दै उहाँले आफूले दुःखका दिनमा पार्टीमा प्रवेश गरेको र प्रजातन्त्रका लागि कहिल्यै सम्झौता नगरेको जानकारी दिनुभयो ।

कार्यक्रममा महामन्त्री प्रकाशमान सिंहले काँग्रेस सिद्धान्तमा अडिग पार्टी भएको र यसको निरन्तरताका लागि कावा सभापति पौडेललाई सभापतिमा र शशाङ्कलाई महामन्त्रीमा सबैको सहमतिमा उम्मेदवार प्रस्ताव गरिएको जानकारी गराउनुभयो ।

उहाँले मुलुकमा जहिले पनि परिवर्तनको नेतृत्व काँग्रेसले गरेको बताउँदै आगामी दिनमा पनि मुलुकको समृद्धिका लागि काँग्रेसको नेतृत्वको खाँचो औँल्याउनुभयो ।

महामन्त्री सिंहका अनुसार संविधानसभाबाट संविधान जारी भइसकेको अवस्थामा मुलुक र पार्टीलाई पौडेल जस्ता सक्षम र त्यागी नेताको नेतृत्वको आवश्यकता महसुस गरी उक्त निर्णय लिइएको हो ।

कार्यक्रममा केन्द्रीय सदस्य एवम् पूर्व अर्थमन्त्री डा रामशरण महतले दुवै उम्मेदवारप्रति समर्थन जनाउँदै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्न र पार्टीको सुदृृढ नेतृत्वका लागि यो ‘टिम’ नै सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

झन्डै ५० वर्षअघिदेखि भद्रगोल जेल रहँदादेखि कावा सभापति पौडेलसँग आफ्नो सम्बन्ध रहेको स्मरण गर्दै नेता महतले पौडेललाई आफूले प्रजातन्त्रप्रति कहिल्यै सम्झौता नगर्ने नेताका रुपमा चिनेको र नेता शशाङ्कसँग नेपालको राजनीतिको पुस्तौँनी विरासत रहेको बताउनुभयो ।

महामन्त्रीका उम्मेदवार कोइरालाले आफू हजुरबुबा कृष्णप्रसाद कोइरालाको प्रेरणा, बिपी कोइरालाको विचार र सबै काँग्रेस नेता कार्यकर्ताको मार्गदर्शनअनुसार नै अघि बढ्ने उद्घोष गर्नुभयो ।

नेता कोइरालाले स्व पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा संविधानसभाबाट संविधान जारी भइसकेको र अब बाँकी काम पूरा गर्न कावा सभापति पौडेलको नेतृत्व आवश्यक रहेकामा जोड दिनुभयो । काँग्रेसको १३ औँ महाधिवशेन बिहीबारदेखि राजधानीमा सुरु हँुदैछ ।