यस्तो छ बेलायती राजकुमारको नेपाल भ्रमण तालीका

0
651

काठमाडौँ, २६ फागुन । नेपालको पहिलोपटक औपचारिक भ्रमण गर्न लाग्नुभएका राजकुमार ह्यारीकोे विस्तृत भ्रमण तालिका बेलायत सरकारले सार्वजनिक गरेको छ ।
नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापनाको द्विशतवार्षिकीको अवसर पारेर राजकुमार ह्यारीको आगामी चैत ६ देखि १० गतेसम्म नेपालको औपचारिक भ्रमण हुन लागेको हो ।
राजकुमार ह्यारी उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले चैत ६ गते साँझ आयोजना गर्नुहुने स्वागत समारोहमा सरिक हुनुहुनेछ । उक्त समारोहमा उहाँले मन्त्रिपरिषद्का सदस्य तथा वरिष्ठ सरकारी अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको यहाँस्थित बेलायती राजदूतावासले जनाएको छ ।prins
राष्ट्रपति विद्यादेवी भण्डारीसँग उहाँले चैत ७ गते राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेटगर्ने कार्यक्रम छ । राजकुमार ह्यारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुहुनेछ ।
नेपाल बसाइका क्रममा राजकुमार ह्यारीले पाटन र भक्तपुरका ऐतिहासिक दरबार क्षेत्रको अवलोकनका साथै भूकम्पबाट प्रभावित ऐतिहासिक स्मारकहरुको पुनर्निर्माणमा भएका प्रगतिबारे जानकारी लिनुहुनेछ ।
दूतावासका अनुसार राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गर्नुहुनेछ भने पोखरास्थित गोर्खा सैनिक क्याम्प पुगेर बेलायती राजमुकुटका निम्ति आफ्नो प्राण उत्सर्ग गरेका वीर गोर्खाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुनेछ । राजकुमारबाट हिमालयको दृश्यावलोकन, जलयात्रा तथा पोखराबाट पदयात्रा, भूकम्पबाट पीडित गोर्खा सैनिकका परिवारसँग भेट गर्ने कार्यक्रम पनि रहेको छ ।
त्यसैगरी, चैत १० गते राष्ट्रपति भण्डारी र राजकुमारबाट काठमाडौँमा आयोजना हुने बालिका सम्मेलनको संयुक्तरुपमा उद्घाटन हुनेछ ।