काठमाडौं, फागुन २८ । नेपालले ‘एसिया सहयोग संवाद्’ (एसिडी) संस्थाको सदस्यता पाएको छ ।
थाइल्यान्डको राजधानी बैंककमा भएको मन्त्रीस्तरीय बैठकले नेपालको सदस्यताका लागि सर्वसम्मतिले अनुमोदन गर्दै सदस्यता प्रदान गरेको हो । बैठकमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्नु भएको थियो ।
सो अवसरमा उपप्रधानमन्त्री थापाले नेपाल पनि एसियन अङ्गको सदस्य भएकामा खुसी प्रकट गर्दै नेपालले एसिडीलाई प्रभावकारी संस्था बनाउन अन्य सदस्यसँग रचनात्मक ढङ्गले मिलेर काम गर्ने प्रतिक्रिया दिनु भएको छ ।
बैंककस्थित नेपाली राजदूतावासका अनुसार बैठकले निकटता, शिक्षा र मानव संसाधन विकास, खाद्य ऊर्जा र जलसुरक्षाको अन्तरसम्बन्ध, संस्कृति र पर्यटन तथा समावेशी र दिगो विकासका लागि पहुँच प्रवर्द्धनजस्ता ६ प्राथमिक विषयका प्रस्तवलाई स्वागत गरेको छ । दोस्रो एसिडी शिखर सम्मेलन आगामी अक्टोबरमा थाइल्यान्डमा हुने भएको छ ।