फागुन ३० एजेन्सी काठमाण्डौ । गएको पाँच वर्षदेखि सिरियामा जारी द्वन्द्वमा परी दुई लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ । जारी द्वन्द्वका कारण ४७ लाख जनसङ्ख्या आफ्नो देशबाट विस्थापित भई अन्य छिमेकी देशमा शरण लिन पुगेका बेलायतसंबद्ध मानवअधिकारीवादी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ ।
जारी द्वन्द्वमा मारिएका मध्ये करिब ८० हजार सर्वसाधारण रहेका छन । तीमध्ये पनि १३ हजार पाँच सय भने बालबालिका छन् ।
सिरियामा त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सन् २०११ को मार्च देखी सुरु भएको द्वन्द्वमा परी करिब १७७ वटा अस्पताल ध्वस्त भएको र लगभग ७०० स्वास्थ्यकर्मी मारिएका बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सिरियामा द्वन्दभन्दा अगाडि रहेका दुई करोड ३० लाख जनसङ्ख्यामा एक करोड ३५ लाख आफ्ना घरबाट विस्थापित भएका छन् । यसरी मानवता बिरुद्धको अपराधले सिमा नाघि सक्दा पनि संयुक्तराष्ट्रसंघले हस्तक्षेप नगरेको भन्दै अन्रतष्ट्रिय मामला बिज्ञहरुले यू यन को भुमिकाको औचित्य सकिएको भन्दै आलोचना गरेका छन् ।
संयुक्त राष्ट्र सङ्घकाअनुसार ठूलो सङ्ख्यामा सिरियाली शरणार्थीलाई आतिथ्य गर्ने देश टर्की रहेको छ । टर्कीमा २७ लाख सिरियाली शरणार्थी आश्रय लिइरहेका युएनएचसीआरले जनाएको छ ।
त्यसैगरी लेबनानमा १० लाख सिरियाली शरणार्थी रहेका छन् । ६ लाख ३० हजार सिरियाली शरणार्थी जोर्डनमा रहेका छन् । इराकमा दुई लाख २५ हजार र एक लाख ३७ हजार इजिप्टमा छन् ।
सिरियाली शरणार्थीले गरीवी, स्वास्थ्य समस्या र स्थानीय समूदायको तनाव जेलिरहनुपरेको पनि युएनएचसीआरले प्रष्ट पारेको छ ।