प्रधानमनत्री आली चीनमा भेटवार्तामा ब्यस्त,आजै सम्झौता हुने ।

0
785

चैत ८ काठमाडौं . प्रधानमन्त्री केपी ओली उत्तरी छिमेकी चीनको साताव्यापी भ्रमणका लागि आइतबार अपराह्न बेइजिङ पुगेका छन् । हिमालय एयरलाइन्सको चार्टर्ड विमानबाट प्रधानमन्त्री ओली स्थानीय समयअुनसार ६.१५ बजे बेइजिङ विमानस्थलमा अवतरण गरेका थिए ।
pm oli china
विमानस्थलमा प्रधानमन्त्री ओली नेतृत्वको ९० सदस्यीय नेपाली टोलीलाई चीनका लागि नेपाली राजदूत डा। महेशकुमार मास्के, चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री लिउ चेनमिन, चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ कूटनीतिज्ञ, नेपाली दूतावासका उपप्रमुख निर्मलराज काफ्लेलगायतले स्वागत गरे ।
प्रधानमन्त्री ओलीलगायत मन्त्री एवं भ्रमण दलका केही अन्य सदस्यलाई बेइजिङस्थित सरकारी गेस्ट हाउस डियायुताईमा राखिएको छ । त्यस्तै विभिन्न दलका सभासद्, उद्योगी व्यावसायी एवं भ्रमण दलका अन्य सदस्यलाई भिन्नै होटलमा राखिएको छ ।

ओलीले स्थानीय समयअनुसार सोमबार बिहान १०ः३० मा चिनियाँ प्रधानमन्त्री ली खछ्याङ्सँग ग्रेट हल अफ दि पिपुलमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसलगत्तै ओली चिनियाँ प्रधानमन्त्री लीले दिने दिवाभोजमा सहभागी हुनेछन् । सोमबार नै नेपाल र चीनबीच पारवहन तथा यातायात सम्झौतालगायत दर्जन समझदारी तथा सम्झौतामा हस्ताक्षर हुँदैछ । परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार भेटपछि सोमबार नै नेपाल र चीनबीच संयुक्त वक्तव्य जारी हुने सम्भावना छ ।

प्रधानमन्त्री ओली बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चाटर्ड विमानबाट चीन प्रस्थान गरेका थिए । त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री विजय गच्छदारलगायत मन्त्री र सरकारी कर्मचारीले बिदाइ गरे । प्रधानमन्त्री भएयता ओली पहिलो चीन भ्रमणमा गएका हुन् ।

टोलीमा ओली पत्नी राधिका शाक्य, उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, वाणिज्यमन्त्री दीपक बोहरा, शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, बिभिन्न दलका सांसद, मुख्यसचिवलगायत छन् ।

संविधान जारी भएपछि नेपाल आर्थिक विकासको पथमा अघि बढेकाले त्यसका लागि चीनको महत्त्वपूर्ण सहयोगको अपेक्षा प्रधानमन्त्रीले चिनियाँ राजनीतिक नेतृत्वसँग व्यक्त गर्नेछन् । नेपालको नयाँ संविधानलाई पूर्ण रूपमा स्वागत गरेको चीनलाई प्रधानमन्त्रीले भौतिक पूर्वाधार विकास प्रक्रियामा सहयोग गरिदिन आग्रह गर्नेछन् ।

बेइजिङ भ्रमण सकेर प्रधानमन्त्री ओली मार्च २४ मा चीनको हाइनान प्रान्तमा आयोजना हुने बोआओ फोरम फर एसिया सम्मेलनमा सहभागी हुनेछन् । उनले सोही दिन सान्यास्थित नान्सन पार्कमा रहेको नेपाल पेभिलियनको पनि भ्रमण गर्नेछन् ।

उनी चिनियाँ राष्ट्रपति सी जिन पिङको गृहनगर साङ्छी प्रान्तस्थित सियान पुग्नेछन् । सिचुवानको छेङ्दु पुगी प्रधानमन्त्रीले भूकम्पपछिको पुनर्निर्माणका परियोजना एवं जलविद्युत् परियोजनाको पनि अवलोकन गर्नेछन् । प्रधानमन्त्री ओली मार्च २७ मा स्वदेश फर्किनेछन् ।