चैत्र २० काठमाण्डौ । राजधानीको चक्रपथको २७ किमी सडक १० वर्षभित्रमा आठ लेनको बन्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । विसं २०७० मा सुरु भएको कलङ्की–कोटेश्वर सडक आठ लेन बनाउने काम २०७३ पुसमै सम्पन्न गर्ने उल्लेख छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला बाँकी १७ किमी चक्रपथ पनि आठ लेन बनाउनका लागि थप सहयोग गर्न चीन सरकार सहमत भएपछि १० वर्षभित्र पुरै चक्रपथ आठ लेन बनिसक्ने मन्त्रालयका वैदेशिक महाशाखा प्रमुख विष्णुओम वादेले जानकारी दिनुभयो ।
चक्रपथको कलङ्की–कोटेश्वर चार वटा पक्की पुललाई आठ लेन बनाउने कार्य सुरु भएको छ । मनोहरा, वागमती र बल्खु खोलामा आठ लेन ६२ मिटर चौडाइका पुल निर्माण सुरु भएको हो । बल्खुमा दुई, कलङ्की र बालकुमारीमा एक÷एक पुल निर्माण गरिँदैछ ।