बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या २४ पुग्यो ।

0
302

चैत्र ३० । स्थानीय बर्खेटारमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । मृत्यु हुनेमा १७ पुरुष र सात महिला रहेको प्रहरीले जनाएको छ । मृतकमध्ये १७ जनाको सनाखत भएको छ । दुर्घटनामा बस चालक काठमाडौंका अर्जुन उप्रेती, उदयपुरका शान्ता राई र उनका छोरा ओमश्री, उदिम राई, हेम सुनुवार, भविन राई तथा बजुनारायण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै खोटाङका विमला राई, सन्तोष कटुवाल, सुरेन्द्र राई, मेजर राई, भैरव राई, नेत्रकुमारी राई, गोविन्द तिमिल्सेना र खम्बबहादुर राई तथा सोलुखुम्बुका सुस्मा राई र सोम सुन्दासको समेत मृत्यु भएको छ । सदरमुकाम दिक्तेलबाट काठमाडौंतर्फ जा“दै गरेको बा२ख ६३७६ नम्बरको बस आज बिहान अर्खौलेको बर्खेटारमा दुर्घटना भएको हो । सख्त घाइते २३ जनालाई नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि काठमाडौ ल्याइएको छ । घाइते सात यात्रुको अवस्था सामान्य रहेको बताइएको छ । घाइतेको हलेसी स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको थियो । घटनास्थल दिक्तेलबाट दश कोस टाढा पर्छ । साँघुरो सडकबाट करिब १ सय ५० मिटर तल खसेको बस भीरमा बा“सको घारीमा अड्किएको छ । दिक्तेलबाट बिहान ५ बजे छुटेको बस करिब ८ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो ।