काठमाण्डौ बैशाख ३ । छुरा प्रहारबाट घाइते भई अस्पताल भर्ना भएका साउदी अरबका लागि नेपाली कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । छुरा प्रहारबाट मुख, काँध र औँलामा गम्भीर चोट लागेका शर्मालाई उपचारपछि बिहीबार साँझै डिस्चार्ज गरिएको दूतावासले जनाएको छ । उपचारपछि कायृबाहक राजदूत शर्माको अवस्था अहिले सामान्य रहेको छ । शर्मालाई बिहीबार बिहान करिब ११ बजे दूतावासकै आश्रयमा बस्दै आएका सुनसरीका लक्ष्मणबहादुर राईले उहाँको कार्यकक्षमै गएर छुरा प्रहार गरेका थिए । शर्माको कार्यकक्षको ढोकाको चुकुल लगाएर सोफाले थुनेर आक्रमण गरिएको थियो । राई कार्यकक्षमा प्रवेश गरेर एक्कासि आक्रमण गर्न थालेपछि शर्मा चिच्याएका थिए । शर्मा चिच्याएको सुनेपछि दूतावासका कर्मचारीको सहयोगमा साउदी प्रहरीले ढोका तोडेर तुरुन्तै उद्धार गरेको थियो । शर्मालाई आक्रमण गर्ने राई भने एक महिनाअघि देखि स्वदेश फिर्तीका लागि दूतावासकै आश्रयमा बस्दै आएका थिए । दूतावासका अनुसार मानसिक रोगी रहेका राईलाई केही दिन भित्रैमा स्वदेश पठाउने तयारी भइरहेको थियो ।