नामिबियासंगको दोस्रो खेल पनि जित्ने दाउमा नेपाली !

0
472

काठमाडौ, ६ बैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियासँगको दोस्रो खेलमा नेपाल निश्चित जीतको अपेक्षासहित आज मैदानमा उत्रिएको छ । यसअघि शनिबार नामिबियालाई ५ विकेटले हराएको नेपालले आजको खेलमा पनि सहज जीत निकाल्ने लक्ष्य बनाएको छ । पुछारमा रहेको नेपाल जितपछि नामिबिया र यूएईलाई उछिन्दै छैटौं स्थानमा उक्लेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियालाई दोस्रो खेलमा पनि पराजित गर्न सके पपुवा न्युगिनीलाई उछिन्दै नेपाल थप एक स्थान माथि उक्लनेछ । पपुवा न्युगिनीसँग नेपालले गत नोभेम्बरमा यूएईसंग दुवै खेल हारेको थियो । नेपालले शनिबारको खेलमा भन्दा आजको खेलमा सुधारिएको प्रदर्शन गर्ने कप्तान पारस खड्काले बताउनुभयो । पहिलो खेलमा नेपालको व्याटिङ उत्कृष्ट देखिएको थिएन जुन नेपाली क्रिकेटको पुरानै समस्या हो । त्यसको क्रम भंगता आवश्यक रहेको खड्काले बताउनुभयो । आजको खेलमा नेपालको रणनीति केहि परिवर्तन हुन सक्ने प्रशिक्षक जगत टमाटाको भनाइ छ । टमाटाले पीचको अवस्था अनुसार रणनीति बनाइने बताउनुभयो । टमाटाका अनुसार स्वास्थ्य परीक्षणमा फिट भएमा आज सागर पुनले टिममा स्थान बनाउने पक्का छ । नामिबिया सशक्त टोली भएकाले जुनसुकै बेला खेलमा फर्कन सक्ने तर्फ हेक्का राखेर खेल्नु पर्नेमा टमाटाको जोड छ । उहाँका अनुसार आजको पीचमा घाँसको मात्रा देखिएकाले थप एक जना फास्ट बलरलाई खेलाउन सक्ने सम्भावना पनि छ । नेपालले पहिले ब्याटिङ गरे दुई सय ३० रन भन्दामाथि बनाउनु पर्ने र पहिले बलिङ गरे एक सय ७० रनभन्दा तल समेट्नु पर्ने प्रशिक्षक टमाटाको भनाइ छ । घरेलु मैदान भएकाले नेपाललाई दर्शकको साथले थप हौसला मिल्नेछ ।