काठमाडौ, ६ बैशाख । मधेसी मोर्चासहित २४ दलीय संघीय गठबन्धनले आज आफ्नो अवधारणा सार्वजनिक गर्ने भएको छ । हिजोको बैठकबाट तयार भएको २६ बुँदे अवधारणा सार्वजनिक गर्ने र त्यस आधारमा नै वार्ता हुने गठबन्धनले जनाएको छ । अबको आन्दोलन र वार्ता त्यही अवधारणाका आधारमा तय गरिनेछ । गठबन्धनले सरकारसँग वार्ता गर्ने र आन्दोलन पनि सँगै अघि बढाउने निस्कर्ष निकालेको छ । दिउँसो काठमाडौमा पत्रकार सम्मेलन गरी अबको वार्ता र आन्दोलनको रणनीतिका विषयमा आधिकारिक धारणा सार्वजनिक गरिनेछ । धेरै माग संविधान र संघीयतासँग जोडिएका छन् । गठबन्धनले संघीय गणतन्त्र नेपालका सबै अङ्ग, तह र निकायहरुमा सरकारी कामकाजमा बहुभाषिक नीति लागु गरिनुपर्ने, संघ, प्रदेशलगायत राज्यको सम्पूर्ण अङ्ग, तह, निकाय र सेवा आयोगहरुमा समानुपातिक समावेशी प्रतिनिधित्व प्रत्याभूति हुनुपर्ने लगायतका माग अघि सारेको छ ।