खेलाडीलाई हौसला दिन प्रधानमन्त्री पुगे किर्तीपुर !

0
532

काठमाडौँ, ६ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत नेपाल र नामिबियाबीचको दोस्रो खेल सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस जितेको नेपालले फिल्डिङ रोजेको छ । नेपाली खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही विशिष्ट व्यक्ति खेलस्थलमा सहभागी हुनुहुन्छ । Kp oliत्यस्तै, मैदानमा करिब १५ हजार दर्शक उपस्थित भइसकेका छन् भने दर्शक आउने क्रम जारी छ । धेरै दर्शक हातमा राष्ट्रिय झन्डा बोकेर नेपाल ,नेपाल भनेर चिच्याइरहेका छन् । नेपाली टोलीमा आज एक परिर्वतन भएको छ । राजु रिजालको स्थानमा सागर पुनलाई ल्याइएको छ । राजु ‘प्लेइन ११’ मा नपरेपछि विकेटकिपरको भूमिका भने अब विनोद भण्डारीले निभाउने छन् । आज नेपाली टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, वसन्त रेग्मी, सोमपाल कामी, विनोद भण्डारी, राजेश पुलामी मगर, सागर पुन, नरेश बुढाएर र सन्दीप लामिछाने छन् । प्रतियोगिताअन्तर्गत तेस्रो चरणको नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले शनिबार उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेटले पराजित गरेको थियो । जितसँगै सन् २०१८ मा बङ्गलादेशमा हुने विश्वकप क्रिकेट छनोटमा सहभागिता जनाउने नेपालको सपना जीवितै छ । यदि आजको खेलमा नेपालले नामिबियालाई पराजित गर्न सकेमा नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना बलियो हुनेछ । सहभागी विभिन्न आठ टोलीमध्ये शीर्ष चारभित्र पर्ने टोलीले सन् २०१८ मा हुने विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्ने मौका पाउने छन् । गत वर्ष खेलेका आफ्ना सबै चार खेलमा निरासाजनक नतिजा ल्याएको नेपालले पहिलो चरणका दुवै खेलमा स्कटल्यान्ड र दोस्रो चरणमा पपुवा न्युगिनीसँग पराजय भोगेको थियो । नेपालले शनिबारको जितसँगै जारी प्रतियोगितामा दुई अङ्क जोडेको छ । त्यस्तै नामिबियाको पनि एक जितका साथ समान दुई अङ्क नै छ ।