गुल्मी, ९ बैशाख । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले प्रधानमन्त्री केपी ओलीले जनताको पक्षमा काम गर्न नसकेको भन्दै राजीनामा माग गरेका छन् । प्रेस युनियन गुल्मीले आज विहान तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले ‘यो सरकारले कालोवजारीलाई प्रश्रय मात्रै नदिएर आफै संलग्न भएकोले तत्काल राजीनामा गर्नु पर्ने बताएका छन् । ‘अव कांग्रेस चुप लागेर नबस्ने भन्दै थापाले सरकार छाड्न आग्रह गरेका थिए । कांग्रेस महाधिवेशनको चटारोका कारण सरकारका गतिबिधि विरुद्ध उत्रिन नसकेको बताउँदै उनले अव तत्काल व्यवस्थापिका संसदको बैठक बोलाउने र त्यसले पनि नपुगे कांग्रेसले सडक तताउने चेतावनी दिए । नाकावन्दी हटेको धेरै भएपनि सररकारले आपुर्ति सहज बनाउन नसकेको , कालोवजारी रोक्न नसकेको , भुकम्प पिडितहरुलाई सम्वोधन गर्न नसकेको लगायतका आरोपहरु नेता थापाले लगाएका छन् । कंग्रेस यहि सरकारमा जाने संभावनाका सम्बन्धमा गरिएको प्रश्नमा थापाले कांग्रेस कुनै पनि हालतमा एमाले नेतृत्वको सरकारमा नजाने र राष्ट्रिय सरकार बन्न नसक्ने ठोकुवा गरे ।