काठमाडौं १५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसद्को बैठक वैशाख २१ गतेका लागि आह्वान गरेकी छन् ।
संसद् बैठक आह्वान गर्न सरकारले सिफारिस गरेलगत्तै राष्ट्रपति भण्डारीले वैशाख २१ गते बिहान ११ बजेका लागि संसद्को बजेट अधिवेशन आह्वान गरेकी हुन् । यसअघि सभामुख ओनसरी घर्तीले पनि यही मितिमा संसद् बस्ने गरी आवश्यक तयारी पूरा भएको लिखित जानकारी राष्ट्रपतिलाई गराएकी थिइन् ।
संविधानसभाबाट संविधान जारी भएसँगै व्यवस्थापिका संसद्मा रुपान्तरित भएको सदनको यो दोस्रो अधिवेशन हो । वर्षे अधिवेशन सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा केन्द्रीत रहने भए पनि अन्य केही अत्यावश्यक विधेयकमाथिसमेत छलफल हुने बताइएको छ । सरकारले संविधान कार्यान्वयनसँगै झन्डै दुई दर्जन विधेयक तयारी अवस्थामा राखेको छ ।