जन्मदिन :तिम्रो उत्सव, मेरो विस्मत !

0
1129
  • हो,
    तिमीलाई गर्व छ – तिम्रो जन्मदिनको
    हिजो खुव तामझामका साथ
    हर्सोल्लासको भुमरीमा
    रङमगिदै
    जिवनको एकसाल कटाएकोमा
    प्रभात देखी खुसी बाडिरहेछौं |
    प्राविधीक सञ्जालका भित्ताहरुमा
    ओईरिएका शुभकामना सन्देशहरु
    टन्नै छन् |
    कृतज्ञता ज्ञापनका लागि
    हरसम्भव प्रयासरत छौ तिमी |
    हो,
    तिमीलाई गर्व छ – तिम्रो जन्मदिनको

अनन्त देखीको प्रतिच्छा
अन्त्य गर्दै
रहरै रहरमा
तिम्रो आफ्नै र आफ्नाको
इच्छा पूर्ती गर्दै
यो चेतनामा तिमी
टुप्लिएका थियौ क्यार !
र त हर्षित छौ – तिमी र तिम्रा आफ्नाहरु

प्रत्येक जन्मदिन, काट्यौ केक
र काट्यौ एकसाल
प्रत्येक जन्मदिन, निभायौ मैन
र निभायौ इतिहास
प्रत्येक जन्मदिन, बाड्यौ हर्ष
र बाड्यौ मृत्युभय एकपल
मनायौ बर्षै पिच्छे आउने
बार्षीक जन्मोत्सव
हो,
तिमीलाई गर्व छ – तिम्रो जन्मदिनको
.
प्रत्येक रात
घडिको टिकटिक आवाज
मस्तिष्कमा एकतमास युद्द गर्छन्
भावनाहरु
चेतनाले भरिएको यो खप्परमा
उब्जन्छन् वेग्रल्ती प्रश्नै-प्रश्नहरु
जन्म र मृत्यु विचमा
किन आउछ जिवन ?
किन बग्छ यो,
नदि झै एकतमास ?
किन बज्दैन,
बार्ह पछि तेर्ह ?
किन दोहोरिन्छ,
चैत पछि वैशाख ?
आखिर किन?
म एक मांशपिण्ड
रतिरागले शुन्यबाट
चेतनामा झारिएको, भरिएको,
समयले बनाउदै गरेको – मानव,
देहमा विजारोपण भएको – अस्तु,
यो आत्मा
यो चेतना
यो श्वास
मुटुको केन्द्रमा रहेको – धड्कन,
धर्मले बताएको – ॐ
संस्कारले जताएको – “म”
म एक शुन्य,
मांशपिण्डबाट अन्तर्ध्यान
ब्रम्हनालमा विलय
शुन्य – शुन्य
केवल शुन्य
चेतनाहिन शुन्य
मेरो मृत्युमा हर्ष मनाउनेहरु
मेरो बार्षिकीमा भोज गर्नेहरु हो !
सुन….
म जन्मविस्मत मनाउछु |
बिना रहर जन्मिएको,
बिना इच्छा हुर्किएको,
आफ्नो खुसि त्यागेर,
अरुको लागी बाचेको
म- एक मांशपिण्ड
मेरो कुनै हर्ष छैन |
मेरो कुनै वर्ष छैन |
यो रंगिन दुनियाको सादा चित्र
विलाउनु छ कालो छिद्र भित्र
यस अर्थमा,
मनाउनु मेरो जन्मोत्सव
म मरेको दिन |

प्रतीक_दुलाल