पर्यटकिय केन्द्र पञ्चासेमा भिषण आगलागी,४८ घण्टामा पनि नियन्त्रणमा आउन सकेन ।

0
565

वैशाख १८ पर्वत । प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासे क्षेत्रमा भीषण आगलागी भएको छ । पर्वत कास्की र स्याङ्जाको सङ्गमस्थल पञ्चासे संरक्षित वनमा बिहीबार रातिदेखि भीषण आगलागी भएको हो । उक्त आगो शनिबारसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण उक्त क्षेत्रमा पाइने लोपोन्मुख जडीबुटी, तथा जनावर सङ्कटमा पर्ने देखिएको छ । पाँच हजार ५०० हेक्टरमा फैलिएको वनमा डढेलो लागेको हो । डढेलोबाट पञ्चासे वन क्षेत्रमा पाइने १२ प्रकारका रुख, १५० प्रकारका औषधिजन्य बोट, ११३ प्रजातिका सुनगाभा, आठ प्रकारका रेशादार वनस्पति, ५८९ प्रकारका फूल फुल्ने वनस्पतिलगायतका अमूल्य वनस्पति र जङ्गली जनावर तथा चराचुरुङ्गीसमेत जोखीममा परेका छन् । आगो निभाउनका लागि स्थानीय,पर्वतस्थित नेपाली सेना, सशस्त्र प्रहरी बल र डिमुवा प्रहरी चौकीका प्रहरीको टोली निरन्तर खटिएको भए पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । नजिकमा पानीको स्रोत नभएको र भएका मूलसमेत खडेरीका कारण सुकेकाले आगो नियन्त्रणमा लिन समस्या सिर्जना भएको प्रहरीले जनाएको छ ।