बैशाख १९ काठमाण्डौ । आगामी आर्थिक वर्षका लागि आवश्यक पर्ने बजेट तथा कार्यक्रम विवरण पेस गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सबै मन्त्रालयलाई अनुरोध गरेको छ । विपद्पछिको आवश्यकता आँकलन प्रतिवेदनमा उल्लिखित सबै मन्त्रालय तथा निकायलाई बजेट पेस गर्न पत्राचार गरिएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले अनुदान सम्झौताका लागि योग्य घरधनीलाई पहिलो किस्ताको रकम उपलब्ध गराउन ११ अर्ब ६७ करोड ७९ लाख रुपैया“ थप रकम निकासा गरिएको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो । यसअघि ९१ करोड ९९ लाख ४२ हजार घरधनीलाई अनुदान दिन रकम निकासा गरिएको थियो । गोरखा, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोक, दोलखा, रसुवा, ओखलढुङ्गा र सिन्धुलीमा जिल्ला समन्वय समितिबाट प्रकाशित सूची अनुसार रकम उपलब्ध गराउन प्राधिकरणले रकम निकासा गरेको हो । यसअघि र अहिले गरी प्राधिकरणले १२ अर्ब ५९ करोड ७८ लाख ४२ हजार रुपैया“ भूकम्पबाट पूर्ण रुपमा घर क्षति भएका नागरिकलाई दिन निकासा गरेको छ ।