दक्षिण कोरीया र इरान बीच १९ बुंदामा सहमती

0
533

बैशाख २१ काठमाण्डौ एजेन्सी । इरान र दक्षिण कोरियाबीच विभिन्न १९ विषयमा सहकार्य गर्ने सहमति भएको सोमबार बताइएको छ । इरानी राष्ट्रपति हसन रौहानी र इरानको भ्रमणमा रहनुभएका दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हेको उपस्थितिमा उक्त सहमति भएको दुवै देशका सरकारले बताएका छन् । दक्षिण कोरियाली राष्ट्रपति पार्क आइतबार इरान पुग्नुभएको थियो । उहाँको तीनदिने इरान बसाइँमा रौहानी, उच्च पदस्थ सरकारी अधिकारीलगायतसँग भेट गरी दुई देशबीचको सम्बन्धका बारेमा छलफल हुने कार्यक्रम छ । पार्कले इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खामेनीलाई पनि भेट्नुहुनेछ । सोमबारको सहमतिअनुसार सामुद्रिक यातायात, ऊर्जा उद्योग एवम् पेट्रोलियम रसायन सम्बन्धमा सहकार्य हुनेछ । सहमतिले दुवै देशबीच जलस्रोत, विद्युतीय र नयाँ ऊर्जा उद्योग विकास, शिक्षा, प्रविधि, संस्कृति, बन्दरगाह निर्माण, स्वास्थ्य, बिमासम्बन्धी विषयमा सहकार्य गरी अघि बढ्न बाटो खोलिदिएको बताइएको छ । इरान र कोरियाबीच वर्तमान वार्षिक व्यापारिक कारोबारलाई तेब्बर बढाएर १८ अर्ब अमेरिकी डलर पु¥याउन दुवै देश सहमत भएको इरानी राष्ट्रपति रौहानीले संयुक्त पत्रकार सम्मेलनमा बताउनुभएको छ । यसअघि दुई देशबीचको कारोबार छ अर्ब अमेरिकी डलर बराबरको रहेको थियो ।