काठमाडौ, २३ बैशाख । प्रमुख सत्ता साझेदार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसको समर्थनमा सरकार बनाउन निर्णायक कदम चालेपछि सात महिने सरकार यात्रामा रहेको केपी शर्मा ओलीको बहिर्गमन निश्चित देखिएको छ।
केही दिनदेखि जारी गोप्य वैठकपछि कांग्रेस सभापति शेरवहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा समर्थन गर्ने आश्वासन दिएका हुन्। उक्त आश्वासनलगत्तै प्रचण्डले ओलीसँग भेटी आफूलाई समर्थन गर्न गरेको आग्रहप्रति भने एमालेले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
आफ्नो दाबी प्रस्तुत गरेर प्रचण्डले बाम गणतान्त्रिक सत्ता गठबन्धन विघटनतर्फ उन्मुख रहेको र कांग्रेस तथा मधेसी मोर्चाको समर्थनबाट सरकार बनाउने स्पष्ट संकेत दिएका छन्।
पाँच सय ९८ सदस्यीय संसदमा कांग्रेस, एमाओवादी र मधेसी मोर्चासँग तीन् सय २४ सदस्य छन्।
प्रधानमन्त्री ओलीले बहुमत गुमेको अवस्थामा राजीनामा गर्लान् या अन्य विकल्पको खोजी गर्लान्, त्यसबारे कुनै स्पष्ट संकेत प्राप्त भएको छैन। अन्नपूर्ण पोस्टमा समाचार छ।