सरकारको बिषयमा एमाओबादीले आज निर्णय गर्ने

0
477

काठमाडौ, २३ बैशाख । एकीकृत माओवादीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने वा निरन्तरता दिने भन्ने बारेमा आज निर्णय गर्ने भएको छ । आफ्नै नेतृत्वमा सरकार गठनको प्रयासमा रहनु भएका एमाओवादी अध्यक्ष प्रचण्डले पार्टीका शीर्ष नेताहरुको औपचारिक तथा अनौपचारिक कुराकानीलाई बिहानैदेखि तीब्रता दिनु भएको छ । पार्टीको औपचारिक बैठकको बारेमा केहीबेर अघिसम्म टुङ्गो नलागेको भए पनि अनौपचारिक छलफल भने भइरहेको प्रचण्डको नीजि सचिवालयले जनाएको छ । हिजो साँझ वालुवाटारमा नेकपा एमालेसँग भएको छलफलमा एमाओवादीले आजसम्म सरकारमा रहने वा नरहने बारेमा निर्णय गर्ने बताएको थियो । आगामी आर्थिक वर्षको बजेट ल्याएको भोलिपल्टै आफैले प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावपछि निर्णय गर्न एमाओवादीले आजको भाका राखेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नयाँ सरकार गठनमा सहयोग गर्ने आश्वास दिएपछि एमाओवादीले हिजो आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न सबै राजनीतिक दललाई आह्वान गरेको थियो । सरकारबाट बाहिरिने वा रहने भन्ने एमाओवादीको निर्णयपछि एमाले र एमाओवादी बीच पनि आजै छलफल हुनेछ ।