आन्दोलनमा दमन भए परिणाम ठीक नहुने उपेन्द्र यादवको चेतावनी

0
930

काठमाडौं, २५ वैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यान्वयन नहुँदै नयाँ संविधानको मृत्यु भइसकेको टिप्पणी गरेका छन् । जारी भएकै दिन जनताले जलाएर संविधान अस्वीकार गरिसकेको दावी गर्दै अध्यक्ष यादवले जनताको अधिकार सुनिश्चित हुने गरी पुनर्लेखन नगरेसम्म यो संविधान काम लाग्दैन । राजधानीस्थित फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा शनिवार संचारकर्मीहरुसँग कुरा गर्दै यादवले भने, ‘मृत्यु भइसकेको संविधानलाई जीवन्त बनाउने हो भने पुनर्लेखनको विकल्प छैन ।’ नश्लवादी चिन्तनमा आधारित संविधान भएकोले यसलाई अस्वीकार गरेको उनले बताए ।
पहिचान, संघीयता, समावेशी जस्ता राष्ट्रिय सवाल सम्बोधन गर्न यो संविधान चूकेको भन्दै सत्ता स्वार्थमा लागेर गलत नियतले जारी गरिएको संविधान मुलुकलाई काम नलाग्ने उनले बताए । ‘जनताको जायज मागलाई बेवास्ता गर्दै संविधान सभामा दफावार छलफल नै नगरी हतारमा संविधान जारी गरियो’, यादवले भने, ‘यसरी छल कपटपूर्ण ढंगले लादिएको संविधान हामीलाई मान्य छैन ।’ फोरम नेपालका अध्यक्ष यादवले आन्दोलनमा सरकारले दमनकारी नीति त्यो आत्मघाती कदम साबित हुनेतर्फ सरकारलाई सचेत गराएका छन् । ‘सरकारले आन्दोलन दमन गरे परिणाम ठीक हुँदैन’, यादवले भने, ‘वार्ता र संवाद मार्फत् समाधान गर्नु पर्नेमा दमनकारी नीति अख्तियार भयो भने जनता प्रतिकारमा उत्रिन बाध्य हुन्छन् ।’
सबै उत्पीडित जनता काठमाडौं केन्द्रीत संगठित हुँदै गर्दा आन्दोलन उत्कर्षमा पुग्नै लागेको दाबी गर्दै यादवले भने, ‘बन्दुकको बलमा सरकारले कहिलेसम्म आन्दोलन थेग्न भन्ने मात्रै हो । बन्दुकले दबाएर आन्दोलन समाप्त हुँदैन ।’ जनताको जायज आन्दोलन तुहिएको विश्व इतिहास नभएको उदाहरण दिँदै जारी आन्दोलन पनि परिणामुखी निष्कर्षमा पुग्ने दाबी गरे । ‘बन्दुकको बलमा दबाएर जनताको आन्दोलन सिद्धिने भए मुलुकमा गणतन्त्र आउने नै थिएन’, उनले भने । भारतको इशारामा आन्दोलन चलेको सरकारी आरोप भ्रामक मात्र रहेको यादवले टिप्पणी गरे ।