काठमाडौँ, २६ वैशाख । डोल्पा र हुम्ला जिल्ला सदरमुकामलाई आगामी दुई वर्षभित्र सडक सञ्जालमा जोड्ने र सबै गाविसमा सडक सञ्जाल जोड्ने सरकारको लक्ष्य छ । काठमाडौँ उपत्यकामा फोहरमैला दिगो व्यवस्थापनका लागि दीर्घकालीन ल्यान्डफिल साइटको पूर्वाधार निर्माण आगामी तीन वर्षभित्र पूरा गर्दै फोहरलाई ऊर्जा र मलमा रुपान्तरण गर्ने परियोजना अगाडि सारिनेछ । त्यस्तै, सबै प्रदेशमा व्यवस्थित सहर निर्माणका लागि एक/एक वटा एकीकृत नगर वा उपत्यका विकास प्राधिकरण गठन गर्ने लक्ष्य निर्धारण गरिएको छ । सबै रणनीतिक योजना कार्यान्वयन गर्दै रेल तथा यातायात विकासको पाँचवर्षे कार्यक्रम अगाडि सारिएको छ भने पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–बुटवल सडक खण्डलाई चार लेनको दू्रतमार्गका रुपमा निर्माण गर्ने कार्य प्रारम्भ गर्ने सरकारले लक्ष्य राखेको छ । निर्माणाधीन पुष्पलाल मध्यपहाडी राजमार्गको विभिन्न खण्डमा सुरु गरिएको कालोपत्र तथा पुलको निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाउने, हुलाकी राजमार्गका सडकलाई पूरा गर्ने पनि सरकारको योजना रहेको छ ।