सरकारको नीति तथा कार्यक्रम प्रति महासङ्घको असन्तुष्टि

0
308

काठमाण्डौ, २७ बैशाख । नेपाल पत्रकार महासङ्घले सञ्चार क्षेत्रका केही महत्वपूर्ण विषय सरकारको नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै असन्तुष्टि ब्यक्त गरेको छ । महासङ्घले विज्ञप्ति निकालेर आर्थिक वर्ष २०७३÷७४ लागि प्रस्तुत नीति तथा कार्यक्रममा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अनुगमन, आमसञ्चार नीति कार्यान्वयन, पत्रकारको योग्यताको मापदण्ड, सञ्चारमाध्यमको मापदण्ड निर्धारण गरी वर्गीकरण तथा विशिष्टीकरण गर्नेलगायत विषय समेटिएपनि केही महत्वपूर्ण विषय छुटेको उल्लेख गरेको छ । पत्रकारको क्षमता अभिवृद्धिका लागि राष्ट्रिय आम सञ्चार प्रशिक्षण प्रतिष्ठान गठन, पत्रकारको स्वास्थ्य बीमा, निर्दे्शिकासमेत तयार भएको द्वन्द्वपीडित पत्रकार कल्याणकारी कोष सञ्चालन, ज्येष्ठ पत्रकार सम्मान वृत्तिलगायत विषय समावेश गर्ने प्रतिबद्धता सरकारले जनाए पनि नसमेटिएको बिज्ञप्तीमा भनिएको छ । महासङ्घले राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन, पत्रकारको स्वास्थ्य बीमा, निर्दे्शिकासमेत तयार भएको द्वन्द्वपीडित पत्रकार कल्याणकारी कोष सञ्चालन, ज्येष्ठ पत्रकार सम्मान वृत्तिलगायत विषयलाई नीति तथा कार्यक्रममा समावेश गरी आउँदो बजेटमा समेत विनियोजन गर्न सरकारसँग आग्रह गरेको छ ।