नीति तथा कार्यक्रम माथिको छलफल आज पनि जारी

0
284

काठमाडौ, २९ बैशाख । आइतबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल व्यवस्थपिका संसद्मा छलफल जारी रहेको छ ।
मंगलबार पनि विभिन्न दलका सांसदहरुले सरकारको नीति तथा कार्यक्रमका विषयमा भनाई राख्ने छन् । सत्तापक्षका सांसदहरुले नीति तथा कार्यक्रमको बचाउ र विपक्षी दलका सांसदहरुले आलोचना गरिरहेका छन् । हिजो संसद् बैठकमा नेपाली काँग्रेसका सभापति तथा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले वर्तमान सरकारले ल्याउने बजेट कार्यान्वयनमा समस्या हुने बताउनुभयो ।
हिजो संसद् बैठकमा नीति तथा कार्यक्रममा संशोधन दर्ता गराएका मध्ये काँग्रेसका सांसद् रमेश लेखक, नेमकिपाका प्रेम सुवाल र अनुराधा थापा मगर, खम्बुवान राष्ट्रिय मोर्चाका रामकुमार राईलगायत ४४ जनाले धारणा राखेको संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिनुभयो । मधेसी मोर्चामा आवद्ध सांसदहरुले बैठक बहिस्कार गरेका थिए ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफल गर्न भोलि र पर्सिका लागि समय निर्धारण गरिएको छ । संसद्मा सांसदहरुले राखेका प्रश्नको प्रधानमन्त्रीले वैशाख ३१ गते जवाफ दिने कार्यक्रम छ । संसदको बैठक बुधबार बिहान ११ बजे बोलाइएको छ ।