काठमाडौँ, ९ जेठ । ‘युगकवि सिद्धिचरण पुरस्कार २०७३’बाट सिक्किमका मुख्यमन्त्री तथा साहित्यकार पवन चाम्लिङलाई सम्मान गरिएको छ । आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चाम्लिङका प्रतिनिधि वीरु वाङ्देललाई रु एक लाख नगदसहित प्रमाणपत्र प्रदान गर्नुभयो । युगकवि सिद्धिचरण श्रेष्ठको १०५ औं जन्मजयन्तीका अवसरमा सिद्धिचरण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले छिमेकी देशको मुख्यमन्त्री पुरस्कृत भएपछि ‘नेपाल फराकिलो मन भएको देश हो’ भन्ने विश्वमाझ पुष्टी भएको बताउनुभयो । चाम्लिङका प्रतिनिधि वाङ्देलले ‘नेपाल र सिक्किमको भूगोल फरक भएपनि हामी एउटै संस्कृतिका सजातीय मानिस हौँ’ भन्नुभयो । सोही कार्यक्रममा युगकवि श्रेष्ठको ‘कान्तिमति’ खण्डकाव्य, उहाँका कवितालाई महेश पौडेलको सम्पादनमा अनुवाद गरिएको पुस्तक ‘द ग्रेट पोइट’, शैलेन्दुप्रकाश नेपालको ‘युगकवि’ खण्डकाव्य र प्रा डा गार्गी शर्माको नाटक ‘महागुरु सिद्धिचरण’को लोकार्पण गरिएको थियो ।