२५ जनाले गरे सगरमाथा आरोहण, २ जना भारतीय प्रहरी बेपत्ता !

0
357

काठमाडौँ, ९ जेठ । सगरमाथा आरोहण प्रारम्भ भएको यो सिजनको १२औँ दिनमा २५ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । यसअघि शनिबार ५० भन्दा बढी स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । यससहित वसन्तऋतुको यो मौसममा आजसम्म ३७८ स्वदेशी तथा विदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । आइतबार २५ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेको र कुन देशका कति आरोही चुचुरोमा पुगे भन्नेबारे यकिन विवरण आइनसकेको पर्यटन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सगरमाथा आरोहण गर्ने क्रममा शनिबार दिउँसो भारतका चार जना आरोही सम्पर्कविहीन भएको र तीमध्ये दुईजना सम्पर्कमा आएका छन् । बिभागका अनुसार भारतको कोलकाता प्रहरीका प्रहरी निरीक्षक गौतम घोष र अर्का परेशचन्द्र नाथ अझै सम्पर्कविहीन रहेका छन् । हराइरहेकाहरुको खोजी कार्य जारी रहेको छ । अझै ठूलो संख्यामा आरोहीहरु आधार सिविरमा रहेको पर्यटन बिभागले जनाएको छ ।