भैरहवा जेठ ९। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस प्रतिपक्षमा भएकाले बैकल्पीक सत्ता भएको बताउनु भएको छ । उहाँले देश र जनताको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै जनतालाई झुक्याउने अभिब्यक्ति नदिन प्रधानमन्त्री केपी ओलीलाई आग्रह समेत गर्नु भएको छ । नेपाली काँग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको ‘संविधान कार्यान्वयन र नेपाली काँग्रेसको भूमिका’ विषयको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “जनताका समस्या एकातिर छन्, संविधान कार्यान्वयन गर्नुपर्ने चुनौती छ, मधेसका समस्या समाधान गर्नु परेको छ तर सरकार भने गम्भीर नदेखिएकाले काँग्रेसले नेतृत्व लिनुपर्ने बेला आएको छ ।’’ केन्द्रीय सदस्य बालकृष्ण खाँडले नेपाली काँग्रेस, लोकतन्त्र र तराईबीच अन्योन्याश्रीत सम्बन्ध रहेकाले तराईको समस्या काँग्रेसले मात्र समाधान गर्न सक्ने दाबी गर्नुभयो । अर्का केन्द्रीय सदस्य गगन थापाले मधेसी जनताले उठाएको जायज मागलाई सही रुपमा सम्बोधन गर्न जरुरी रहेको बताउनुभयो । दुई दिनसम्म चल्ने सो प्रशिक्षणमा केन्द्रीय सदस्य थापा, विश्वप्रकाश शर्मालगायतले प्रशिक्षण दिनुहुनेछ ।