जेठ ९ काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेसँगै घरेलु क्रिकेटको प्रमुख प्रायोजक नेपाल टेलिकमसँगको सम्झौताअनुसारको प्रतियोगिता पनि नहुने सम्भावना बढेको छ।
नेपाल टेलिकमले एक वर्षअघि क्यानसँग सिनियर राष्ट्रिय क्रिकेट टोली र टीट्वेन्टी राष्ट्रिय प्रतियोगिता गरी दुईवटा शीर्षकमा वार्षिक एक करोड ५५ लाख रुपैयाँको सम्झौता गरेको थियो।
दुवै शीर्षकमा तीन वर्षका लागि सम्झौता छ। सम्झौताअनुसार सिनियर पुरुष र महिला टोलीका लागि गरी वार्षिक ८५ लाख र टीट्वेन्टी राष्ट्रिय प्रतियोगिताका लागि ७० लाख रुपैयाँ दिने सम्झौता भएको थियो। तर एक वर्ष बितिसक्दा पनि टीट्वेन्टी राष्ट्रिय प्रतियोगिता हुन सकेको छैन।
ुसम्झौता भएको एक वर्षभन्दा पनि बढी भइसक्यो तर हामीले ७० लाख रुपैयाँ वार्षिक प्रायोजन रहेको टीट्वेन्टी राष्ट्रिय प्रतियोगिता गर्न सकेका छैनौुं, निलम्बित क्यानकी सीईओ भावना घिमिरेले अन्नपूर्ण पोस्ट्सँग भनिन्।
उनी आगामी असार मसान्तसम्म प्रतियोगिता गर्नसके सम्झौताअनुसारको काम हुने बताउँछिन्। टीट्वेन्टी क्रिकेटमा नेपालले हात पारेको सफलतालाई हेरेर नेपाल टेलिकमले २०७१ सालको चैतमा क्यानसँग दुई फरक शीर्षकमा सम्झौता गरेको थियो।
नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्य राष्ट्रिय टोलीसँगको प्रायोजनामा कुनै समस्या नभए पनि टीट्वेन्टी प्रतियोगिताको हकमा भने अन्योल रहेको बताउँछिन्। ुराष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको छ, त्यसमा कुनै समस्या छैन। तर, टीट्वेन्टी प्रतियोगिताको हकमा भने अन्योल छ।
क्यान आफैं निलम्बित रहेकाले यो विषयमा अहिले कोसँग कुरा गर्ने भन्ने अन्योल छ। एक्टिभ र आधिकारिक निकाय आउनेबित्तिकै यो विषयमा दुई पक्ष बसेर टुंगो लगाउँछौुं, वैद्यले भनिन्।
लामो समयदेखि विवादमा रहेको क्यानलाई गत महिना आईसीसीले निलम्बन गरेपछि अन्योल झनै बढेको छ। राष्ट्रिय टोली प्रायोजन शीर्षकमा भएको सम्झौता रकमको २५ प्रतिशत खेलाडीलाई भत्तास्वरूप दिने भन्ने छ। उक्त रकमको ६० प्रतिशत पुरुष टोली र ४० प्रतिशत महिला टोलीलाई दिने सम्झौतामा उल्लेख छ।
यो रकममध्ये हालसम्म क्यानले करिब आधा अर्थात् ४२ लाख रुपैयाँमात्र प्राप्त गरेको छ। यो शीर्षकको सम्झौतामा महिला खेलाडीसँग अनुबन्धन सम्झौता गर्ने कुरा पनि थियो तर यसबारे केही भएको छैन। ुयो सबै विषयमा क्यान बोर्डले निर्णय गर्नुपथ्र्यो तर केही हुन सकेको छैनु, निलम्बित क्यानकी सीईओ घिमिरे भन्छिन्।
क्यानसँग अहिले वाईवाईको पनि सम्झौता छ। वाईवाईले यू(१९ राष्ट्रिय प्रतियोगिता र इन्टर स्कुल छात्रा क्रिकेटका लागि सम्झौता गरेको छ। यू(१९ राष्ट्रिय प्रतियोगितामा पुरुषका लागि वार्षिक १८ लाख र महिलाका लागि वार्षिक नौ लाख रुपैयाँको सम्झौता भएको छ। इन्टर स्कुल छात्रा प्रतियोगिताका लागि भने वार्षिक तीन लाख रुपैयाँको सम्झौता छ।
यसैबीच क्यानले पुरुष खेलाडीलाई सन् २०१५ को जनवरीमा केन्द्रीय सम्झौता गर्दा त्यसले निकै चर्चा पाएको थियो। तर, यो सम्झौता एक वर्षभन्दा बढी टिक्न सकेन। गत डिसेम्बरमा खेलाडीको अनुबन्धन सकिएपछि त्यो नवीकरण भएको छैन।
सुरुमा २२ खेलाडीलाई ६÷६ महिनामा पुनरवलोकन गर्ने गरी विभिन्न चार श्रेणीमा राखेर एक वर्षका लागि सम्झौता गरिएको थियो। ६ महिनापछि तीन खेलाडी थप गरी अनुबन्धन भएका खेलाडीको संख्या २५ पुर्याइएको थियो।
क्यानभित्रको विवादका कारण खेलाडीसँगको अनुबन्धन नवीकरण ओझेलमा परेको सीईओ घिमिरे बताउँछिन्।अन्नपुर्ण पोष्टले समाचार छापेको छ ।