भूकम्प पिडीतको बिजोग हुंदा प्राधिकरणका सिइओलाई मस्ती !

0
569

जेष्ठ ११, काठमाण्डौ । भूकम्पले घर पूर्णरूपमा क्षतिग्रस्त भएका पाँच लाखभन्दा बढी परिवार अझै पनि टिनको साँघुरो टहरा र त्रिपालमुनि बस्न बाध्य छन् । यस वर्षको मनसुनसमेत सुरु हुने बेला भइसक्यो, वर्षायाम टहरा र त्रिपालमा कसरी गुजार्ने भन्ने चिन्ताले भूकम्पपीडितहरूलाई सताइरहेको छ ।

भूकम्पपीडितहरूका लागि वर्षायाम अगावै पक्की घर निर्माण गर्न अनुदान रकम वितरण र प्राविधिक सहयोग गर्नुपर्ने पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली कहाँ छन्, उनकै कार्यालयका कर्मचारीहरूलाई समेत थाहा छैन । ‘भूकम्पपीडितहरूको घर पुनर्निर्माण गराउन अहोरात्र खटिनुपर्ने सीईओ विदेश सयरमा हुनुहुन्छ भन्ने सुनेको छु,’ प्राधिकरणका एक अधिकारीले भने ।

प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त निजी घरमात्र होइन सरकारी भवन, स्कुल, कलेज, स्वास्थ्य चौकी र पुरातात्त्विक सम्पदाको पुनर्निर्माणको ठोस योजनासमेत बनाउन सकेको छैन । ज्ञवाली आफ्नो पुनर्निर्माणको त्यति ठूलो दायित्व बिर्सेर उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको टोलीमा बसेर १० दिने टर्की भ्रमणमा व्यस्त छन् ।

टर्कीमा भइरहेको राष्ट्रसंघीय मानवता सम्मेलनमा ज्ञवालीको कुनै अर्थ नराख्ने भए पनि लामो प्रयास गरेर उनी त्यसतर्फ गएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले जानकारी दिए ।

भूकम्पपछिको पुनर्निर्माण कार्यलाई गति दिन नसकेका ज्ञवालीसमेत राष्ट्रसंघीय सम्मेलनमा जाने प्रस्ताव आउँदा प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले भूकम्पपीडितहरूलाई टहरा र त्रिपालमा राखेर पुनर्निर्माण प्राधिकरणका प्रमुख नै विदेश जाँदा नराम्रो सन्देश जाने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

सीईओ ज्ञवाली प्रधानमन्त्री केपी ओलीको सातदिने चीन भ्रमणका क्रममा बिना काम पूरै अवधि सँगै बसेका थिए । प्राधिकरणका अधिकारीहरूले समयमै दायित्व पूरा गर्न नसक्दा ५ लाख भूकम्पपीडित परिवारमध्ये मुस्किलले ८ सय परिवारलाई घर बनाउन पहिलो किस्ताबापत ५० हजार रुपैयाँ दिनेबाहेक अरू कुनै ठोस काम हुन सकेको छैन ।

भूकम्प गएको १३ महिना बढी भइसक्दा पनि पुनर्निर्माणको काम सुरु हुन नसक्दा दातृ निकाय तथा मुलुकहरूसमेत चिन्तित भएका छन् भने काम सुरु नभएका कारण युरोपियन युनियनलगायत दाताको सहयोग रकमसमेत फिर्ता हुन थालिसकेको प्राधिकरणका अधिकारी बताउँछन् ।

भूकम्प गएको लगत्तै पुनर्निर्माणका लागि सरकारले दाता सम्मेलन गर्दा दातृ निकाय तथा मुलुकहरूले साढे चार खर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । पुनर्निर्माणको काम सुरु हुन नसक्दा दातृ निकाय तथा मुलुकको सहयोग रकम आउन सकेको छैन भने आइसकेको कतिपयको सहयोगसमेत फर्कन थालेको छ ।

पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले सीईओ ज्ञवाली राष्ट्रसंघीय सम्मेलनमा भूकम्पपछिको पुनर्निर्माण र वैदेशिक सहयोगका बारेमा कार्यपत्र प्रस्तुत गर्न टर्की गएको आफूले सुनेको कान्तिपुरलाई बताए । ज्ञवाली परराष्ट्रमन्त्री थापासँगै शुक्रबार टर्की गएका हुन् । उनी राष्ट्रसंघीय मानवता सम्मेलनपछि २७र२८ तारिखमा हुने राष्ट्रसंघकै इस्तान्बुल एक्सन प्लान समीक्षा बैठक अवधिमा समेत टर्कीमा रहनेछन् ।

सरकारले परराष्ट्रमन्त्री थापा र ज्ञवालीसहितको टोली टर्की पठाउँदा आफैंले बनाएको भ्रमण निर्देशिकासमेत उल्लंघन गरेको छ । उपप्रधानमन्त्रीले निर्देशिकामा औपचारिक भ्रमणमा बढीमा चार जनामात्र लैजान पाउने प्रस्ट व्यवस्था छ । तर, निर्देशिकाको उल्लंघन गर्दै सरकारले उपप्रधानमन्त्रीको नेतृत्वमा टर्कीमा १० जनाको टोली पठाएको हो ।

थापाको भ्रमण टोलीमा उनकी पत्नी, परराष्ट्र सचिव शंकर दास बैरागी, निजी सहायक परराष्ट्र उपसचिव भरत रेग्मी, सम्बन्धित महाशाखाका उपसचिव दुर्गाप्रसाद भण्डारी, राष्ट्रसंघिय नियोग न्युयोर्क र जेनेभाका स्थायी प्रतिनिधि क्रमशस् दुर्गाप्रसाद भट्टराई तथा दीपक धिताल र दुई अधिकृत, गृह मन्त्रालयका सहसचिव र प्राधिकरणका सीईओ ज्ञवाली भ्रमण दलमा छन् । सरकारी भ्रमण निर्देशिकाको १५ नम्बर बुँदामा उपप्रधानमन्त्रीले ४ जनाभन्दा बढी लिएर भ्रमणमा जान नपाउने व्यवस्था छ ।

निर्देशिकाले उपप्रधानमन्त्रीलाई पत्नी लिएर जान पाउने छुटसमेत दिएको छैन । तर थापाले निर्देशिकाविपरीत आफ्नो भ्रमण दलमा पत्नीलाई समेत लगेका छन् । निर्देशिका विपरीत थापाले ठूलो भ्रमण दल र पत्नीसमेत लगेकामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले चिन्ता व्यक्त गरेका छन् ।

‘मन्त्रिपरिषद्ले उपप्रधानमन्त्री थापालाई पत्नीसहित निर्देशिकाविपरीत १० जनाको भ्रमण टोली टर्की लान स्वीकृति दियो, अब कुनै पनि मन्त्रीलाई भ्रमण निर्देशिका पालना गराउन र पत्नी या पति लान रोक्न नसकिने भयो, भ्रमणको नाममा फजुल खर्च र विकृति बढ्न भयो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने । उपप्रधानमन्त्री टर्कीबाट इजरायल भ्रमण जाँदैछन् भने राष्ट्रसंघीय सम्मेलन सकिएपछि उनको भ्रमण दलका केही अधिकारी भने फर्कने छन् ।