काठमाडौँ, १२ जेठ । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना नियमित मर्मतका लागि एक हप्ता बन्द हुंदा लोडसेडिङ अझै बढ्ने भएको छ । स्याङ्जाको मिर्मीमा रहेको आयोजना मर्मतका लागि मंगलबार बिहानदेखि बन्द गरिएको आयोजना प्रमुख श्रीरामराज पाण्डेले जानकारी दिनुभयो । प्रमुख पाण्डेका अनुसार सुरुङबाट पेनस्टक हुँदै टर्वाइनसम्म पानी पठाउने पाइपको मुख्यद्वारमा समस्या देखिएपछि मर्मतका लागि उत्पादन बन्द गरी मर्मत सुरु गरिएको हो । कुल १४४ मेगावाट क्षमताको सो आयोजनाको मंगलबार बिहानसम्म ९० मेगावाट विद्युत् उत्पादन गर्दै आएको थियो । एउटा युनिट मर्मत गर्न अरू पनि बन्द गर्नुपर्ने भएकाले समस्या पैदा भएको उहाँले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना बन्द हुँदा पर्ने समस्याप्रति आफूहरु सचेत रहँदै सकेसम्म विद्युत्भार कटौती कम गर्नेतर्फ ध्यान दिने बताउनुभयो । हाल नदिमा पानीको मात्रा बढेको भन्दै प्राधिकरणले बिद्युत कटौती अघोषीतरुपमा कम गरेको छ ।