नवलपरासी, १२ जेठ । पूर्वपश्चिम राजमार्गस्थित नवलपरासीको हर्कपुरमा सल्यानबाट काठमाडाँ आउँदै गरेको मिनी ट्रक आज बिहान दुर्घटना हुँदा चारजनाको घटना स्थलमै ज्यान गएको हो । इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार मजदुर बोकेर हिँडेको बा २ क ११३७ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा दुई पुरुष र दुई महिलाको मृत्यु भएको हो । मृत्यु हुनेहरुको नाम, पहिचान हुन सकेको छैन । इँट्टाभट्टामा काम गर्ने मजदुर बोकेको उक्त ट्रक उच्च गतिका कारण अनियन्त्रित भई पिपलको बोटमा ठक्कर खाएर पल्टँदा १४ जना घाइते भएका छन् । ट्रकमा ड्राइभर सहित १८ जना सवार थिए । घाइतेहरुको चितवनको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।