काठमाडौ, १३ जेठ । सरकारले मुलुकको समग्र आर्थिक स्थितिको मूल्याङ्कनसहितको आर्थिक सर्वेक्षण ल्याउने भएको छ । चालु आर्थिक वर्ष २०७२/७३ को मूल्याङ्कनसहितको आर्थिक सर्वेक्षण सरकारले आज संसदमा पेस गर्दैछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यवस्थापिका–संसद्को आजको बैठकमा चालु आवको आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ । सरकारले आगामी आवको बजेट पेस गर्नुपूर्व चालु आर्थिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के–कति कार्यान्वयन भए कस्ता कस्ता चुनौती सामना गर्नुपर्योजस्ता समग्र विषयवस्तु समेटेर आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने परम्परा रहेको छ । नेपालको संविधानमा व्यवस्था भएअनुरुप सरकारले आगामी आवको बजेट यही जेठ १५ गते प्रस्तुत गर्नेछ । आर्थिक सर्वेक्षणमा मुलुकको समग्र आर्थिक स्थिति तथा सरकारको मातहतमा रहेको संस्थानको अवस्थाका बारेमा समेत सदनलाई जानकारी दिने प्रचलन रहि आएको छ ।