प्रत्येक नेपाली २१ हजार ऋणमा

0
390

काठमाडौं, १४ जेठ । यो वर्ष प्रत्येक नेपालीको ऋण झन्डै दुई हजार रुपैयाँ बढेको छ । सरकारले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण– ०७३ मा प्रत्येक नेपालीको टाउको २१ हजार ४१५ रुपैयाँ ऋण भएको उल्लेख छ । गत वर्ष प्रतिव्यक्ति १९ हजार ४९६ ऋण थियो । नेपालले विभिन्न दातृ निकाय तथा सरकारलाई तिर्नुपर्ने ऋण पनि तीन खर्ब ७४ अर्ब पुगेको छ । गत वर्ष नेपालले तिर्न बाँकी ऋण तीन खर्ब ४३ अर्ब थियो । नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा वैदेशिक ऋणको अनुपात तीन प्रतिशत पुगेको छ । गत वर्ष यो अनुपात १.८ प्रतिशत रहेको थियो । यस्तै कुल गार्हस्थ उत्पादनको अुनपातमा बजेट घाटा ७.६ प्रतिशत रहेको छ ।

नेपालीको आम्दानी १० डलर घट्यो

नेपालीको प्रतिव्यक्ति आय घटेको छ । चालू आर्थिक वर्षमा प्रतिव्यक्ति आय १० डलरले घटेर ७५२ डलरमा सीमित भएको छ । गत आर्थिक वर्षमा प्रतिव्यक्ति आय ७६२ अमेरिकी डलर थियो । न्यून आर्थिक वृद्धि र अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन भएकाले प्रतिव्यक्ति आय घटेको सरकारले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक सर्भेक्षण ०७३ उल्लेख छ । आर्थिक वर्ष ०६८/६९ पछि नेपालीको प्रतिव्यक्ति आय यो वर्ष घटेको सर्भेक्षणमा उल्लेख छ । त्यस वर्ष नेपालीको आय १२ डलरले ओरालो लागेको थियो । आव ०७०/७१ मा सात सय २५ रहेको नेपालीको आय गत वर्ष ३७ डलरले बढेको थियो ।

कुल गार्हस्थ बचत १० वर्षकै न्यून

अर्थतन्त्रमा कुल गार्हस्थ बचतको अंश पछिल्लो १० वर्षकै न्यून भएको छ । १० वर्षको औसत बचत १०.२ प्रतिशत रहेकोमा यो वर्ष यस्तो बचत ५.२ प्रतिशतमा सीमित भएको छ । गत वर्ष कुल गार्हस्थ बचत ८.८ प्रतिशत थियो । सर्वेक्षणअनुसार पछिल्लो १० वर्षमा आव ०६७/६८ मा गार्हस्थ बचत सबैभन्दा धेरै थियो । जिडिपीमा बचतका अंश बचत १४ प्रतिशत पुगेको थियो । सर्वेक्षणअनुसार यस वर्ष कुल गार्हस्थ उत्पादनमा राष्ट्रिय बचतको अंश पनि घटेको घटेको छ । गत वर्ष यो अनुपात ४३.९ प्रतिशत रहेकोमा यो वर्ष ४२.९ प्रतिशतमा झरेको छ । पछिल्लो १० वर्षको औसत बचतको अनुपात ३८.३ प्रतिशत रहेको छ । आर्थिक वृद्धिबारे सबैको अनुमान गलत चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षामार्फत सरकारले घोषणा गरेको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने भएको छ । मध्यावधि समीक्षामा सरकारले दुई प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने घोषणा गरेको भए पनि यो वर्ष ०.७७ प्रतिशतले मात्रै आर्थिक वृद्धि हासिल हुने घोषणा अर्थ मन्त्रालयले गरेको छ । चालू वर्षमा आर्थिक वृद्धिबारे अधिकांश संस्थाले गरेको अनुमान गलत साबित भएका छन् । सरकारसँगै संयुक्त राष्ट्रसंघ (युएन स्क्याप)ले २ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेको थियो । यस्तै विश्व बैंकले १.७ प्रतिशत तथा एसियाली विकास बैंकले १.५ प्रतिशतको वृद्धि हासिल हुने अनुमान गरेको थियो । नेपाल राष्ट्र बैंकले भने ०.९ प्रतिशतले ऋणात्मक हुने प्रक्षेपण गरेको थियो ।

उद्योगको वृद्धि ऋणात्मक

भूकम्प र नाकाबन्दीका कारण चालू वर्षमा उद्योग क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको देखिएको छ । यस वर्ष उद्योग क्षेत्रको वृद्धिदर ६.३ प्रतिशतले ऋणात्मक देखिएको छ । आर्थिक वर्ष ०६५/६६ पछि उद्योग क्षेत्र ऋणात्मक बनेको हो । त्यो वर्ष ०.६ प्रतिशतले उद्योगमा ऋणात्मक वृद्धि देखिएको थियो । चालू वर्षमा कृषि क्षेत्रको वृद्धि १.३ प्रतिशत रहेको छ । जुन गत वर्षको भन्दा केही धेरै हो । गत वर्ष कृषि क्षेत्रको वृद्धिदर ०.८ प्रतिशत रहेको थियो । अर्थ मन्त्रालयका नीति विश्लेषण महाशाखा प्रमुख कृष्ण देवकोटाले लामो खडेरी र समयमै कृषि उपजको सहज आपूर्तिको अभावका कारण कृषि क्षेत्र कमजोर भएको बताए । चालू वर्षमा सेवा क्षेत्रको वृद्धि पनि घटेको छ । सेवा क्षेत्रमा २.७ प्रशितको वृद्धि देखिएको सर्वेक्षणमा उल्लेख छ । गत वर्ष सेवा क्षेत्रको वृद्धि ३.६ प्रतिशत रहेको थियो ।

अथतन्त्रको चुनौती यस्ता

सर्वेक्षणमा मुलुकको अथतन्त्रका चुनौती पनि उल्लेख गरिएको छ । भूकम्पपछिको पुनर्निर्माणको काम अबको सबैभन्दा चुनौतीपूर्ण रहेको जनाइएको छ । यस्तै कृषि क्षेत्रको व्यवसायीकरण र त्यसका लागि दक्ष जनशक्ति पनि अबको चुनौतीका रूपमा लिइएको छ । सरकारले आन्तरिक तथा विदेशी पुँजी लगानी गरी औद्योगीकरण पनि चुनौतीपूर्ण रहेको उल्लेख गरेको छ । यस्तै विद्युत्लगायतका आयोजना निर्माणका लागि निजी क्षेत्रको सहभागिता, जग्गा अधिग्रहण, स्थानीय अवरोधको अन्त्यलगायतका समस्या रहेको पनि सर्वेक्षणमा जनाइएको छ ।

के के भयो यो वर्ष ?

ड्ड चालू आर्थिक वर्षको आठ महिनामा राष्ट्रिय विद्युत् प्रणालीमा १८.४९ मेगावाट विद्युत् जोडिएको छ । गत वर्षसम्ममा ८२९.१९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएकोमा अब ८४७.६८ मेगावाट पुगेको छ । ड्ड यो वर्षमा ३६८ किलोमिटर प्रसारण लाइन निर्माण भएको पनि सर्वेक्षणमा जनाइएको छ । अब देशभर विद्युत् प्रसारण लाइन ३२१६.८६ किलोमिटर पुगेको छ । ड्ड चालू वर्षमा सडक विभागबाट ९२ किलोमिटर सडक कालोपत्रे भएको छ । यही वर्ष २ सय ७० किलोमिटर नयाँ सडक निर्माण भएको छ । यो वर्ष अहिलेसम्ममा २४ वटा पुल निर्माण गरिएको छ । स्थानीयस्तरबाट पनि वर्षमा ७२ किलोमिटर सडक कालोपत्रे गरिएको सर्वेक्षणमा जनाइएको छ । ड्ड ९ सय ४५ किलोमिटर लामो पूर्व–पश्चिम रेलमार्ग, ५ सय १९ किलोमिटर लामो रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको काम अघि बढेको सर्वेक्षणमा उल्लेख छ ।

जिडिपीको एकतिहाइ रेमिट्यान्स

देशको कुल गार्हस्थ उत्पादनको तुलनामा विप्रेषण आय (रेमिट्यान्स)को अनुपात ३२.१ प्रतिशत पुगेको छ । गत वर्षको तुलनामा यो अनुपात तीन प्रतिशतले बढेको हो । गत वर्ष २९.१ प्रतिशत रहेको जिडिपीमा रेमिट्यान्सको अनुपात यस वर्ष बढेको हो । चालू वर्षमा रेमिट्यान्स १५ प्रतिशतले बढेको छ । यस वर्ष चार खर्ब २७ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको प्रतिवेदनमा उल्लेख छ । यो वर्ष शोधनान्तर बचत एक खर्ब ५८ अर्ब १८ करोड रुपैयाँ रहेको छ । नेपालको विदेशी विनिमय सञ्चिति १० खर्ब नौ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । गत वर्षको भन्दा एक खर्ब १५ अर्बले विदेशी विनिमय सञ्चिति बढेको तथ्यांकमा उल्लेख छ । गत वर्ष आठ खर्ब २४ अर्ब विदेशी विनिमय सञ्चिति थियो । जिडिपीमा कसको योगदान कति ?

कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ०.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ३१.८ प्रतिशतको योगदान यस वर्ष ३१.७ प्रतिशतमा झर्ने प्रतिवेदनमा उल्लेख छ । ‘कृषि क्षेत्रको योगदान कम हुनुलाई अर्थतन्त्रमा संरचनागत परिवर्तनका रूपमा लिन सकिन्छ,’ अर्थमन्त्रालयका नीति विश्लेषण महाशाखा प्रमुख कृष्ण देवकोटाले भने । जिडिपीमा गत वर्ष १५.९ प्रतिशत योगदान दिएको उद्योग क्षेत्रको योगदान यस वर्ष १४.५ प्रतिशतमा आएको छ । यस्तै सेवा क्षेत्रको योगदान ५३.८ प्रतिशत रहेको छ । सेवा क्षेत्रमा सबैभन्दा धेरै योगदान थोक तथा खुद्रा व्यापारको योगदान जिडिपीमा धेरै छ । यो क्षेत्रको १४.२ प्रतिशत योगदान रहेको प्रतिवेदनमा उल्लेख छ । मूल्यवृद्धि ९.७ प्रतिशत चालू वर्षको चैतसम्मको मूल्यवृद्धि ९.७ प्रतिशत पुगेको छ ।

फागुनमा १०.२ प्रतिशत पुगेको मूल्यवृद्धि औसतमा भने दोहोरो अंकभन्दा ०.३ प्रतिशतले कम छ । नौ महिनाको अवधिमा खाद्य समूहको मूल्यवृद्धि ११.३ प्रतिशत रहेको छ भने गैरखाद्य समूहको मूल्यवृद्धि ८.६ प्रतिशत रहेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।