जेठ १४ काठमाण्डौ एजेन्सी । अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवारी पाउन डोनल्ड ट्रम्पले आवश्यक प्रतिनिधिको समर्थन प्राप्त गरेका छन् । अब उनी उम्मेदवार बन्ने निश्चित भएको छ । नर्थ डकोटामा ट्रम्पले यसअघि तटस्थ रहेका १५ जना प्रतिनिधिले आफूलाई सघाएकोमा धन्यवाद दिएका थिए। बीबीसीका अनुसार रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदका आकांक्षी १६ जनालाई पछि पार्दै ट्रम्पले उम्मेदवारीका निम्ति १ हजार २ सय ३८ जना प्रतिनिधिको समर्थन प्राप्त गरेका हुन् । यो संख्या राष्ट्रपति पदका लागि पार्टीको तर्फबाट उम्मेदवारी पाउन आवश्यक संख्याभन्दा एउटा बढी हो । जुलाईमा हुने अधिवेशनबाट रिपब्लिकन पार्टीले उम्मेदवारीबारे अन्तिम टुंगो लगाउनेछ । पार्टीको तर्फबाट उम्मेदवारी सुनिश्चित भएको खण्डमा ट्रम्पले पूर्व विदेशमन्त्री हिलरी क्लिन्टन वा सिनेटर बर्नी स्याण्डर्ससँग भावी राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।