जेठ १७ काठमाण्डौ एजेन्सी । साउदी अरेबिया र इरान हज तीर्थयात्राबारेको विवाद सुल्झाउन असफल भएका छन् । योसंगै तेहरानले यस वर्ष आफ्ना कोही पनि नागरिक हजयात्राका लागि साउदी अरेबियाको मक्का नजाने बताएको छ । साउदी अरेबियाले इरानले अस्वीकार्य शर्तहरु राखेको जनाएको छ । गत वर्ष हजयात्राका क्रममा भएको भागदौडमा सयौं तीर्थयात्री मारिएका थिए, जसमध्ये अधिकांश इरानी थिए । त्यस लगत्तै विवाद सुरु भएको थियो । दुई क्षेत्रीय प्रतिद्वन्द्वीहरु साउदी अरेबिया र इरान थुप्रै मुद्दामा विभाजित छन् र गत जनवरी यता उनीहरुले एक अर्कासंगको सम्बन्ध तोडेका छन् । गत वर्ष ६० हजारजति इरानी हजयात्रामा सहभागी भएका थिए।