काठमाडौ, १७ जेठ । नेकपा माओवादी केन्द्रको बैठक आज बस्दैछ । पार्टीभित्र देखिएको विवाद मिलाउन र जिम्मेवारी विभाजन गर्न बैठक बस्न लागेको हो । नेकपा माओवादी केन्द्रले ६ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेपनि थप गरेर एकहजार पुराउने तयारी गरेको छ । बिहान बस्ने कार्यदलको बैठकले थप केन्द्रीय सदस्यका विषयमा छलफल गर्नेछ । बैठक बिहान बालुवाटारको एक घरमा बस्ने तय गरिएको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । माओवादी केन्द्रको संगठनात्मक विधि र नेतृत्व प्रणालीबारे टुंगो लगाउन वर्षमान पुनको नेतृत्वमा गठित उच्चस्तरीय कार्यदलले यसको तयारी गरेको हो । जेठ ६ गते १० माओवादी समूह मिलेर बनेको माओवादी केन्द्रको केन्द्रीय समितिमा पर्नेमा अधिकांश कनिष्ठ नेता रहेको भन्दै एकीकृत माओवादीबाट आएको पक्षले आक्रोश पोखेपछि कार्यदल दबाबमा परेको छ । बिहान शीर्ष नेता र कार्यदल दिउँसो हेडक्वार्टर र कार्यदलको बैठक बसेर छलफल गर्नेछ । पर्सिसम्ममा कार्यदलले हेडक्वार्टरलाई अन्तिम सुझाव दिने सीमा दिइएको छ । कार्यदलमा जनार्दन शर्मा, प्रभु साह, उर्मिला अर्याल, हितमान शाक्य, कुलप्रसाद केसी, पम्फा भूसाल, विश्वभक्त दुलाल, खगराज भट्ट, इन्द्र आङ्बुहाङ, देवशरण यादव, टीकाविक्रम हमाल र वसन्त घर्ती सदस्य रहनु भएको छ ।