कोकिन तस्करीमा चिनिया नागरीक संलग्न

0
863

जेष्ठ १८ काठमाण्डौ । नेपाललाई ट्रन्जिट बनाएर पेरुको कोकिन हङकङ भित्र्याउने समूहको मुख्य कारोबारी हङकङमा बस्ने चिनियाँँ नागरिक स्याम रहेको खुलेपछि लागूऔषध नियन्त्रण ब्युरोको प्रहरीले चीन र अमेरिकी निकायसँग अनुसन्धानका लागि समन्वय सुरु गरेको छ ।

नाइजेरियन नागरिकको संलग्नतामा नेपालमा कोकिन भित्रिने गरेको खुले पनि चिनियाँँ नागरिकको संलग्नता देखिएको थिएन ।

जेठ १२ र १६ मा पक्राउ परेको समूह चिनियाँँ नागरिक चुन म्यान हु र किन दोङदोङ पक्राउ परेका थिए । अनुसन्धानमा दोङदोङ नाइजेरियाली समूहकै भरिया रहेको खुलेको थियो । ४ दिनपछि पक्राउ परेका हु हङकङमा रहेका लागूऔषधका कहलिएका कारोबारी स्यामको समूहका सदस्य रहेको र स्यामले हु मार्फत दुबई र नेपाल हुँदै नियमित रूपमा कोकिन हङकङ भित्र्याउने गरेको खुलेपछि ब्युरोले चिनियाँँ समूह र स्यामबारे थप अनुसन्धान र जानकारीका लागी चिनियाँँ र अमेरिकी संगठनसँग सहकार्य सुरु ब्युरोका अधिकारीले बताए ।

‘दुवै घटनामा पक्राउ परेका चिनियाँँ नागरिक र उनीहरूको संलग्नताको अनुसन्धानमा हङकङमा सक्रिय समूह रहेको देखिएपछि आवश्यक समन्वय सुरु गरिसकेका छौं,’ लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख डीआईजी जयबहादुर चन्दले भने, ‘हामीले यता खुलेका जानकारी पठाएर नखुलेका विषयमा सहयोग मागेका छौं ।’

अनुसन्धानमा २ किलो ६ सय ग्राम कोकिनसहित पक्राउ परेका भेनेजुयला, नाइजेरियन, पाकिस्तानी, नेपाली र भारतीय नागरिकको समूहसँगै पक्राउ परेकी दोङदोङ नाइजेरियन नागरिकका लागि काम गर्ने खुलेको थियो ।kokin

३ किलो कोकिन लिएर हङकङ फर्कनेक्रममा त्रिभुवन विमानस्थलमा पक्राउ परेका हुंको लागूऔषध कारोबारमा संलग्नता केलाउँदा उनी पटक–पटक दुबई गएर कोकिन हङकङ लैजाने गरेको र उनी चाइनाको लागूऔषधका मुख्य कारोबारी स्यामका लागि काम गर्ने गरेको खुलेपछि ब्युरो थप गम्भीर देखिएको छ । ब्युरोका डीएसपी अपिल बोहोराका अनुसार ब्युरोले चीनको लागूऔषध नियन्त्रण ब्युरो र अमेरिकाको नार्कोटिक्स एन्ड डेन्जरस ड्रग सेक्सन (एनडीडीएस) का अधिकारीलाई पक्राउ परेका व्यक्ति र उनीहरूको सञ्जालबारे जानकारी पठाएको छ ।

गम्भीर अपराधमा चिनियाँँ
संगठित अपराध अनुसन्धान गर्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डीआईजी नवराज सिलवाल नेपाल आउने चिनियाँँ नागरिकको संगठित अपराधमा संलग्नता डर लाग्दो रूपमा बढेको बताउँछन् । पर्यटक र व्यवसायीका रूपमा नेपाल आएर संगठित रूपमै अपराधमा सक्रिय हुने चिनियाँँ नागरिकको संख्या बढ्दो क्रममा रहेको सिलवालले बताए ।

‘नेपालमा संगठित रूपमै बसेर गम्भीर आपराधिक गतिविधिमा संलग्न हुने चिनियाँँको संख्या बढदो देखिन्छ’, सिलवालले भने, ‘उनीहरूले ग्याङस्टर शैलीमा काम सुरु गरिसकेका छन् । अनुगमन र निगरानी आवश्यक छ ।’ नेपालमा पक्राउ परेका चिनियाँँ र उनीहरूमाथिको अभियोगको फेहरिस्तले सिलवालको विश्लेषणलाई पुष्टि गर्छ ।

पछिल्लो समय देखिएका संगठित तस्करीमा चिनियाँँ नागरिकको संलग्नता बढ्दो क्रममा छ । केन्द्रीय अनुसन्धान ब्युरोले गरेको सुन तस्करीको अनुसन्धानमा मुख्य कारोबारी चिनियाँ नागरिक नै देखाएको थियो । वन्यजन्तुको अंग तस्करी, जडीबुटीको अवैध कारोबार, वैदेशिक मुद्रा तस्करी अनि अवैध कोठी सञ्चालनमा समेत चिनियाँ नागरिक पक्राउ पर्दै आएका छन् ।

सुन तस्करीदेखि कोठीसम्म
२०७२ भदौ १० मा २० वटा चुरोटको बट्टामा ६० हजार अमेरिकी डलर र २० हजार चिनियाँ युआनसहित चिनियाँ नागरिक यी वाङ पक्राउ विमानस्थलमा पक्राउ परेका थिए । उनले डलरलाई चुरोटको सुर्ती राख्ने स्थानमा राखेका थिए । अनुसन्धानमा उनी ४ वर्षदेखि पटक–पटक नेपाल आएर डलर तस्करी गरेको खुलेको थियो ।

२०७० चैत २२ मा स्याम्पु, पाउरोटीलगायतका सामानभित्र डलर लुकाएर खासा हिँडेका बेला कोटेश्वरमा ४ लाख अमेरिकी डलरसहित १४ तिब्बती नागरिक पक्राउ परेका थिए । २०७० जेठ २३ मा हि वान र लि याङग मयूरको प्वाखसहित पक्राउ परेका थिए । बाघको छाला, हड्डी, जंगली फ्याउरोसहित पक्राउ पर्ने चिनियाँको संख्या पनि उल्लेख्य छ ।

तिब्बत लैजाने क्रममा प्राय: दुर्लभ वन्यजन्तुको अंग र कारोबारी पक्राउ पर्ने गरेका छन् । वन्यजन्तुको अंगसहित पक्राउ पर्ने चिनियाँको संख्या न्यून भए पनि पक्राउ पर्ने सहयोगीको बयानमा भने उनीहरू नै मुख्य कारोबारी देखिने गरेको प्रहरी अधिकारी बताउँछन् ।
जडीबुटी तस्करीमा पनि उनीहरूको संलग्नता उस्तै छ । २०७२ माघ १९ मा एयर चाइनाबाट काठमाडौं हुँदै चीन हिँडेका ३ जना चिनियाँ नागरिक जडीबुटीसहित पक्राउ परेका थिए ।

वाङजी यालन, झिआओमाओ झिया र ताइपिङ वाङ विमानस्थलको होल्डब्यागेज चेकिङ एरियामा सुटकेसभित्र प्लास्टिकको ९ प्याकेटभित्र ६ किलो लहरा र चुरोटको २ वटा बट्टाभित्र २ किलो रक्तचन्दनसहित पक्राउ परेका थिए ।

४ वर्षको बीचमा झाङ गुइउइ आधा किलो यार्चागुम्बासहित पक्राउ परे, सादोङग ५ किलो यार्चासहित पक्राउ परे । अग्र्यानिक खेतीको आवरणमा जडीबुटीको तस्करमा संलग्न लिउ जी लिन काठमाडौंमा पक्राउ परेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंले ७ वर्ष अगाडि ठमेलमा चिनियाँ नागरिकले चलाएको यौनकोठीमा छापा मारेर १० जना चिनियाँ युवतीलाई पक्राउ गरी डिर्पोट गरेको थियो । कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।