जेष्ठ १८ काठमाण्डौ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले तराईका आठ जिल्लाबाट एसएलसी दिएका विद्यार्थीको नतिजा सुधार गर्न ‘एसएलसी सहयोगी पुस्तक’ पठाएको भन्दै प्रगति विवरण बनाएका छन् । तर, मन्त्री पोखरेलले भनेजस्तो तराईको बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिरहा र सप्तरीबाट नियमिततर्फ ६५ हजार विद्यार्थीमध्ये रौतहटका केही विद्यार्थीबाहेक अरूले सहयोगी पुस्तक पाएकै छैनन् ।
उनीहरूले जे जाने, परीक्षामा त्यही लेखे । अब नतिजाको प्रतीक्षामा छन् । नियमित र आंशिक तराईका आठ जिल्लाबाट ९६ हजार विद्यार्थीले एसएलसी दिएका छन् । सरकारले तराईका विद्यार्थीलाई अध्ययनमा सहज होस् भनेर खुला विद्यालयका विद्यार्थीलाई दिइने पुस्तक वितरण विश्व शिक्षा -वल्ड एजुकेसन) र प्लान नेपाललाई छपाइ सामग्री पीआरसी दिएको थियो ।
२ करोड ४० लाख लागत लाग्ने भएपछि सरकारले उक्त पुस्तक गैरसरकारी संस्थालाई स्थानीयस्तरमै छापेर वितरण गर्न भन्दै छपाइ सामग्री दिएको थियो । शैक्षिक जनशक्ति विकास केन्द्रले यी दुई संस्थालाई पीआरसी उपलब्ध गराए पनि वितरण गरेका छैनन् ।
कान्तिपुरले तराईका ८ सय ५१ विद्यार्थीलाई प्रत्यक्ष भेटेर गरेको स्थलगत अध्ययनले रौतहटका आंशिक विद्यार्थीले मात्रै पुस्तक पाएका छन् । अन्य सात जिल्लाका विद्यार्थीले पुस्तक पाएकै छैनन् । गैरसरकारी निकायले पीआरसी लगेकै आधारमा मन्त्रीले तराईका विद्यार्थी सहयोग पुस्तक वितरण गरेको भनिरहेका छन् । मन्त्री पोखरेलकै गृहजिल्ला महोत्तरीमा पनि सहयोगी पुस्तक पुगेको छैन ।
‘एसएलसीका विद्यार्थीलाई केन्दि्रत गरेर छुट्टै किताब आएको थाहा छैन,’ महोत्तरी बर्दिबास ९ को जनजागृत माविका विज्ञान शिक्षक नरेन्द्रकुमार कर्णले भने, ‘महोत्तरीको अरू विद्यालयसँग पनि मेरो सम्पर्क भइरहेको छ । जिल्लामा अन्यत्र आएको भए मलाई थाहा हुन्थ्यो ।’
महोत्तरीको देउराली जनता उच्च माविबाट एसएलसी दिएकी संगीता स्याङबाले छुट्टै पुस्तक वितरण गरेको सुने पनि आफूले नपाएको बताइन् । महोत्तरीको पशुपतिनगरको दुर्गा मावि मनोजकुमार महतोले आफ्नै जिल्लाका मन्त्रीले पुस्तक वितरण गर्ने सुने पनि नपाएको बताए । ‘एसएलसी क्याप्सुल आउँदैछ भनेर हल्ला थियो,’ उनले भने, ‘त्यस्तो केही पाएनौं । जे जानेको थिएँ, त्यही लेखेको छु ।’
रौतहटमा एउटा विद्यालयमा अंग्रेजी, गणित र विज्ञान १०/१० वटाको दरले वितरण गरेको पाइएको छ । विद्यार्थीले आलोपालो गरेर पुस्तक साटफेट गरेर पढेर परीक्षा दिएको बताए । ‘अरू पुस्तकभन्दा सहजै बुझिने खालको रहेछ,’ डुमरियाबाट एसएलसी दिएकी अनिकाकुमारी चौधरीले भनिन्, ‘पुस्तक पाए पनि सेटमा पाएनौं ।’
नयाँ संविधानमा मधेसी दलले राखेको माग पूरा नभएपछि तीन महिनाभन्दा बढी तराईका विद्यालयमा पठनपाठन हुन सकेको थिएन । मंसिरदेखि बिहान पढाइ भए पनि सिकाइ कोर्ष नसक्ने र सिकाइ उपलब्धि कमजोर हुने भएपछि शिक्षा मन्त्रालयले खुला विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई प्रयोग गर्ने सहयोगी पुस्तक तराईका विद्यार्थीलाई पठाउने निर्णय गरेको थियो ।
पर्साको जुद्ध महावीरप्रसाद, रघुवीरराम उच्च माविका प्राचार्य नवीनकुमार मिश्रले विद्यार्थीलाई एसएलसी सहयोगी पुस्तक कसैले पनि वितरण नगरेको बताए । ‘काठमाडौंमा बाँड्यो भन्ने होला, तर यहाँ विद्यार्थी पाएनन् ।’ बाराका विद्यार्थीले पनि सहयोगी पुस्तक नपाई परीक्षा दिएका हुन् । बारा जितपुरका फकिरा गिरी-राजेश्वरी गिरी उच्च माविका सहायक प्रधानाध्यापक राजुकुमार सिंहले कोर्ष पुस्तकभन्दा छुट्टै पुस्तक नपाएको बताए । बाराको जितपुरस्थित फकिरा गिरी-राजेश्वरी गिरी उच्च माविका अमृत लामाले पनि पुस्तक नपाएको बताए ।
विश्व शिक्षाका कार्यक्रम संयोजक सीमा आचार्यले महोत्तरीका विद्यार्थीलाई आवश्यक पुस्तक छपाइ गरेर शिक्षा कार्यालयमा बुझाएको बताइन् । ‘छाप्ने इच्छा पनि थिएन । मन्त्रालयको आग्रह हार्न नसकेर महोत्तरीको एउटा विद्यालयमा पाँच सेटका दरले छापेर शिक्षा कार्यालयमा हस्तान्तरण गरेको हो,’ उनले भनिन्, ‘कार्यालयले हामीलाई किताब बुझेको पत्रसमेत दिएको छ ।’ प्लान नेपालका सूचना अधिकारीलाई प्रयास गर्दा पनि फोन सम्पर्कमा आउन चाहेनन् । कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।