जेठ, २१ ओखलढुंगा । ट्याक्टर दुर्घटनामा परेर वरषेनी दर्जनौ सर्वसाधारणले ज्यान गुमाउनु परेको भन्दै स्थानीय प्रशासनले यात्रु बोक्ने ट्याक्टरलाई कारबाहि गर्ने भएको छ ।‘ट्याक्टरमा यात्रु बोक्न पूर्णरुपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले सञ्चारकर्मीहरुलाई जानकारी दिनु भयो । ‘ट्याक्टर जे प्रयोजनका लागि हो त्यो प्रयोजनमा मात्रै चलाउनु पर्ने छ । यदि कसैले यात्रु बोक्छ भने त्यसलाई कारबाही गर्ने अधिकारीको भनाई छ । ‘ट्याक्टरमा चालक सहचालक र १ जना मजदुरलाई मात्रै यात्रा गर्न दिईने भन्दै दुर्घटनाजन्य घटना न्यूनिकरणमा सबैले आ आफ्नो ठाँउबाट भूमिका खेल्नु पर्ने प्रशासन कार्यालयको निष्कर्ष छ ।सदरमुकाममा बसेको सरोकारवालाहरुको बैठकले ट्याक्टर सञ्चालन हुनुपूर्व चालक र सवारीको अवस्था सहित त्यसको प्रयोजनबारे प्रहरीलाई जानकारी गराउनुपर्ने,मौषमी सडकको पहिचानगरी अनुमती लिएर मात्रै सवारी चलाउनुपर्ने, विद्यालयहरुले ट्याक्टरमा नचड्न विद्यार्थीहरुलाई सचेत गराउनुपर्ने लगाएतका महत्वपूर्ण निर्णय समेत गरेको छ ।यसैबिच बुधबार सहचालकले चलाएको ट्याक्टर पल्टिँदा पाँच जनाको मृत्यु भएको विषयमा सत्यतथ्य बुझ्न छानविन गर्न समिति गठन गरिएको छ ।जिल्ला दैवि प्रकोप उद्धार समिति ओखलढुंगाको आपतकालीन बैठकले प्रहरी निरीक्षक ईन्द्रजित ईटनीको अध्यक्षतामा पाँच सदस्य छानविन समिति गठन गरेको हो । समितिले स्थलगत अनुसन्धन गरेर विवरण बुझाउने जिम्मेवारी पाएको छ ।