अस्ट्रेलियाका कप्तान क्लार्कको रोजाइमा किन परे सन्दीप लामिछाने ?

0
683

जेठ २२ काठमाण्डौ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अस्ट्रेलियामा क्रिकेट खेल्ने मौका पाएका छन्। गत वर्ष अस्ट्रेलियालाई एक दिवसीय विश्वकप दिलाएका कप्तान माइकल क्लार्कले १६ वर्षे लेग स्पिनर सन्दीपलाई अस्ट्रेलियामा खेल्न बोलाएका हुन्। सन्दीपले माइकल क्लार्क एकेडेमीबाट खेल्ने तयारी सुरु गरिसकेका छन्।

अघिल्लो साता हङकङमा सम्पन्न हङकङ ब्लिज ट्वान्टी–२० प्रतियोगितामा सन्दीपले क्लार्कसँगै खेलेका थिए। त्यहाँ सन्दीपको प्रदर्शनबाट विश्व क्रिकेटका एक सफल खेलाडी क्लार्क प्रभावित भए। हङकङबाट फर्किएपछि क्लार्कले सन्दीपलाई मेन्सन गर्दै ट्वीटमा छिट्टै भेटौंला भनेका थिए।sandip

‘क्लार्कले मेरो एकेडेमीबाट क्लब क्रिकेट खेल्नु भनेर प्रस्ताव राख्नुभएको छ, त्यसका लागि कुन समय खाली छ भनेर सोध्नुभएको थियो, मैले सेप्टेम्बरमा भनेको छु,’ सन्दीपले कान्तिपुरसँग भने, ‘माइकल क्लार्क क्रिकेट एकेडेमीबाट खेल्न पाउनु मेरा लागि ठूलो मौका हो, राम्रो अनुभव हुनेछ, धेरै सिकिन्छ पनि।’ क्लार्कले नै आउनेरजाने टिकटसहित भिसाको लेटर, खाने र बस्ने व्यवस्था मिलाइदिन्छु भनेको सन्दीपले बताए।

सन्दीपको लक्ष्य अस्ट्रेलियाको घरेलु ट्वान्टी–२० क्रिकेट बिग बास खेल्ने हो। ‘क्लार्कले राम्रो खेल्दै गर तिमी बिग बासमा पुग्छौ भन्नुभएको छ। मेरा लागि इन्डियन प्रिमियर लिगभन्दा ठूलो हो बिग बासको महत्त्व। त्यसपछि सेफिल्ड सिल्ड हो मेरो लक्ष्य। उनीहरूको प्रस्ताव आउँछ भने म सधैं तयार छु त्यसका लागि। यसलाई लिएर म निकै उत्साहित छु,’ सन्दीपले भने।

हङकङमा सन्दीप र क्लार्कले कावलुन क्यानटोनबाट खेलेका थिए। उनले हुङ होम जेडी जगुवारसँगको पहिलो खेलमै २ विकेट लिएका थिए। त्यसपछि वर्षाले खेल अवरुद्ध पार्दा पूरै प्रतियोगिता प्रभावित भएको थियो। सन्दीपको टिम कावलुन संयुक्त विजेता भएको थियो। सन्दीपले झन्डै साढे सात हजार हङकङ डलर ९नेपाली झन्डै १ लाख १० हजार० मा खेलेका थिए।

नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्यान्ड्ससँग जुलाई १३ र १५ मा गएर त्यहाँ खेल्दै छ। त्यसपछि अस्ट्रेलिया लाग्ने सन्दीपले तयारी गरेका छन्। नेपालले त्यसपछि नोभेम्बरमा हङकङमा गएर खेल्ने कार्यक्रम छ। यही बीचमा सन्दीपले अस्ट्रेलियामा खेल्नेछन्।

हङकङमा खेलेपछि सन्दीपलाई अस्ट्रेलियामा खेल्ने अवसरको बाटो खुलेको हो। ‘हङकङमा उत्कृष्ट खेलाडीले खेलेका थिए, माइकल क्लार्कसँगै खेल्न पाइयो,’ सन्दीपले विदेशमा पहिलो पटक क्लब क्रिकेट खेल्दाको अनुभव सुनाए, ‘क्लार्कसँग ड्रेसिङ रुम सेयर गरेको अनुभव म वर्णन गर्न सक्दिनँ। धेरै कुरा सिकाउनु हुन्थ्यो। बलिङ गर्दा के कुरामा ध्यानमा राख्नुपर्छ, फलो थ्रु, बलिङ एक्सनदेखि अफ द फिल्ड र अनफिल्ड कस्तो हुनुपर्छ सबै सिकाउनु हुन्थ्यो।’

क्लार्कले हङकङबाट छुट्टिएपछि ट्वीटरमा सन्दीपलाई लिटिल च्याम्पियन भनेर सम्बोधन गर्नुभएको छ। ‘मेरा लागि यसले धेरै महत्त्व राख्छ, त्यो स्तरको खेलाडीले यस्तो तारिफ गर्नु,’ सन्दीपले भने।

सन्दीप र क्लार्कले एकले अर्कालाई ट्वीटरमा फलो गरेका छन्। त्यसमा सन्दीपलाई क्लार्कको जवाफ थियो, ‘इच एन्ड एभ्री प्लेर हयाज टु फलो वान एन्ड इच अदर।’ अर्थात् एउटा खेलाडीले अर्को खेलाडीलाई फलो गर्नुपर्छ।

सन्दीपले जनवरी–फेब्रुअरीमा बंगलादेशमा आईसीसी यू–१९ विश्वकपमा १४ विकेट लिएका थिए र उनी उक्त प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा थिए। त्यो उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो।

त्यस क्रममा उनले आयरल्यान्डसँगको खेलमा ह्याट्रिक गरेका थिए। अघिल्लो महिना सन्दीपले राष्ट्रिय टिमबाट ‘डेब्यु’ गर्दै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध कीर्तिपुरमा २ खेलमा ३ विकेट लिएका थिए।

क्याम्पाचौरदेखिको यात्रा
हङकङबाट फर्किने दिन आफ्नो गृहनगरको टिम चितवन क्रिकेट एकेडेमीबाट खेल्न रौतहटको चन्द्रनिगाहपुर गएका थिए उनी, २०१५ को मार्च ४ मा। सन्दीपलाई यो मिति कण्ठ छ। प्रशिक्षक पुबुदु दासानायके यही दिन चितवनको क्याम्पाचौर पुगेका थिए। सन्दीप पनि त्यहीं प्रशिक्षणका लागि आएका थिए। तत्काल प्रभावित भएर दासानायकेले सन्दीपलाई राष्ट्रिय टिमको क्याम्पमा बोलाएका थिए। त्यसयता सन्दीप नेपाली क्रिकेटको ठूलो प्रतिभाका रूपमा देखिएका छन्।

‘१३ महिनापछि फर्केर हेर्दा धेरै कुरा सिकियो जस्तो लाग्छ। पारस दाइ ९खडका० को कप्तानीमा खेल्ने मेरो ठूलो इच्छा थियो। त्यो पूरा भयो, म त्यो सपनालाई अझै अगाडि लिएर जान चाहन्छु,’ सन्दीपले भने, ‘आज पनि मेरा लागि क्याम्पाचौरको महत्त्व त्यत्ति नै छ। पहिला पनि त्यहीं अभ्यास गर्थें। अहिले पनि घरमा भएका बेला त्यहीं गएर अभ्यास गर्छुं। मेरा प्रशिक्षक राजु खड्काले मलाई यो स्थानमा ल्याउन निकै मद्दत गर्नु भएको छ। पुबुदु दासानायके सर उहाँलाई भुल्नै सक्दिनँ। सबै सिनियर खेलाडीले सहयोग गरिरहनुभएको छ।’

सन्दीपका अनुसार लाइन लेन्थमा उनको केही समस्या थियो। १३ महिनाको अनुभवमा सन्दीपको भोगाइ यस्तो थियो, ‘सीधै क्याम्पमा आएँ, सुधार गर्दै गएँ। अनुभव बटुल्दै गएँ, त्यसले मलाई सहयोग गर्‍यो। आत्मविश्वासी बनायो। योजना बनाएर खेल्नुपर्छ भन्ने सिकियो। ब्याट्सम्यानको विरुद्धमा कस्तो योजना बनाएर बल फाल्ने भन्ने सिकियो।’

नेपाललाई च्याम्पियनसिपको शीर्ष चारमा पुर्‍याउने, छनोट चरण पनि जितेर विश्वकपमा पुर्‍याउने लक्ष्य छ सन्दीपको। विश्वकप नेपालको महत्त्वाकांक्षी लक्ष्यमात्र हो तर सन्दीप भन्छन्, ‘सबै सम्भव छ। मिहिनेत गरे अवश्य लक्ष्यमा पुग्न सकिन्छ।’ कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।