जेठ २५ काठमाण्डौ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकार उल्लङ्घनका घटनामा आयोगले गरेको सिफारिस सरकारले कार्यान्वयन नगरेको बताउनु भएको छ । विभिन्न मानवअधिकारका क्षेत्रमा कार्यरत सङ्घसंस्थाको आयोजनामा गरिएको नागरिकस्तरको दुईदिने गोष्ठी’ को आज उद्घाटन गर्दै अध्यक्ष शर्माले बालअधिकारको संरक्षण र प्रवद्र्धनका लागि आयोग, सरकार र नागरिकस्तरबाट उचित पहल हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले आयोगका सिफारिसहरु पूर्ण कार्यान्वयन हुने अवस्था नभएसम्म मानवअधिकारको संरक्षणमा चुनौती कायम नै रहने बताउनुभयो ।बालबालिका शान्ति क्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कृष्ण सुवेदीले बालअधिकार अभिसन्धिको अनुगमन र कार्यान्वयनका लागि नागरिकस्तरका विभिन्न छ वटा सञ्जालले संयुक्त कार्य गरी सरकार र संयुक्त राष्ट्र सङ्घलाई प्रतिवेदन दिने गरेको बताउनुभयो ।