काठमाण्डौ , ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ संविधानको कार्यान्वयन चुनौती र जवाफदेहिता’ कार्यक्रमको उद्घाटन गर्दै संविधान कार्यान्वयन गर्न सरकारले कार्यतालिका बनाई अगाडि बढेको हुँदा यसलाई सहयोग गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई आग्रह गर्नुभयो । “हामी संविधान जारी गर्न जति चिन्तित रुपमा लागेका थियौँ, संविधान कार्यान्वयनमा पनि लागिरहेका छौँ, यसमा पटक्कै केही नभएको भन्ने होइन, आवश्यक ऐन, नियम संशोधन गरी व्यवस्थापिका–संसद पेस गर्ने तयारीमा लागिरहेका छौँ” – उहाँले भन्नुभयो । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले संविधान कार्यान्वयनसम्बन्धी कार्यतालिका पारित गरेको थियो । सो कार्यतालिकामा २०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र संसद्को निर्वाचन गर्ने उल्लेख छ । प्रधानमन्त्री ओलीले स्थानीय निकाय पुनःसंरचना आयोगलाई दिनरात नभनी कार्य सम्पादन पूरा गर्न निर्देशन दिँदै छिटोभन्दा छिटो प्रतिवेदन ल्याउन आग्रहसमेत गर्नुभयो । स्थिती र विधि बसाल्न प्रशासनलाई चुस्त, दुरुस्त बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।