नौ महिनापछि संसद् नियमावली पारित

0
634

काठमाडौँ, ५ असार ।  संसदीय सुनवाइ समिति १५ सदस्यीय हुनेभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकको व्यवस्थापिका–संसद् नियमावली, २०७३ को मस्यौदालाई ध्वनिमतले संविधान जारी भएको नौ महिनापछि पारित गरेपछि सो सुनुवाइ समिति १५ सदस्यीय हुने भएको हो । बैठकमा व्यवस्थापिका –संसद्को नियमावली मस्यौदा समितिका सभापति राधेश्याम अधिकारीले व्यवस्थापिका–संसद् नियमावली, २०७३ को मस्यौदा प्रतिवेदन गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पुरानै संरचना अुनसार समिति ७५ सदस्यीय हुनुपर्ने तथा सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ संविधान अनुरुप १५ सदस्यीय हुनुपर्ने अडान राख्दै आएका थिए । काँग्रेसले मस्यौदा प्रतिवेदन नियम १८४ को उपनियम २ बुँदालाई फिर्ता लिएपछि संसदीय समिति सानो आकारको बन्न लागेको हो । प्रमुख प्रतिपक्षी दलका आनन्दप्रसाद ढुङ्गानाले सो प्रतिवेदनको नियम १८४ को उपनियम २ लाई फिर्ता लिने जानकारी सदनलाई गराउनुभयो ।