चितवन, १० असार । उपप्रधान तथा रक्षामन्त्री भीमबहादुर रावलले नेपाल चेपाङ् सङ्घको चाँैथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै स्थानीय निकायको निर्वाचनपछि अल्पसङ्ख्यकको अधिकार सुनिश्चित हुने बताउनुभयो । जनतालाई सुरक्षित बनाउँदै तोकिएकै समयमा निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै उहाँले सबै दललाई संविधान कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभयो । चेपाङ् बस्तीमा आवश्यक पूर्वाधार शिक्षा, स्वास्थ्य, सडकलगायतका सुविधा पु¥याउन सरकार लागि परेको भन्दै उहाँले अल्पसङ्ख्यक जातिलाई माथि उठाउन सकेमात्र समग्र देशको विकास हुने बताउनुभयो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष नागेन्द्र कुमालले जनजातिको पक्षमा कुनै पनि सरकार उदाहरण बन्न नसकेको भन्दै त्यस तर्फ ध्यान दिन आग्रह गर्नुभयो । नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष जगनाथ थपलिया, सांसद कृष्णभक्त पोख्रेल, नेपाल चेपाङ् सङ्घका केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङ् लगायतले चेपाङ्को हकहितका विषयमा बोल्नुभएको थियो । कार्यक्रममा पूर्व सांसद माया चेपाङ र गोविन्दराम चेपाङलाई सम्मान गरिएको थियो । शनिबारसम्म चल्ने महाधिवेशनमा चितवन, मकवानपुर, धादिङ्, गोर्खा, तनहु, लम्जुङलगायतका जिल्लाबाट २५० जना प्रतिनिधि र १५० जना परिवेक्षकको सहभागिता रहेको छ । महाधिवेशनले नयाँ कार्यसमितिको समेत चयन गर्दै छ । अल्पसङ्ख्यक जातिको रुपमा रहेको चेपाङ समुदायको जनसङ्ख्या ७० हजार रहेको छ ।