भोजपुर, १२ असार । लगातार वर्षाका कारण भोजपुर जोड्ने एकमात्र नारदमुनि थुलुङ राजमार्ग अवरुद्ध भएसँगै अत्यावश्यक सामग्री तथा सेवामा प्रभाव भएको छ । सहज रुपमा सडक सञ्चालन नहुँदा जिल्ला अस्पतालका लागि ढुवानी गर्न तयारी अवस्थामा रहेको औषधि विराटनगरमै रोकिएको छ । त्यस्तै ढुवानीका साधनहरु सहजरुपमा चल्न नसक्दा दैनिक उपभोग्य वस्तुको समेत अभाव सुरु हुन थालेको छ । वर्षात् र पहिरोका कारण हवाई मैदान नखुल्दा भोजपुरमा एक सातायता हवाई उडान हुन सकेको छैन । यसैबीच, जिल्ला दैवीप्रकोप उद्धार समितिको हालै बसेको आकस्मिक बैठकले लेगुवा–भोजपुर सडकखण्ड सञ्चालनका लागि पहल गर्ने निर्णयसमेत गरेको छ । दैवीप्रकोपका कारण हुनसक्ने सम्भावित घटना कम गर्ने उपाय र राहत तथा उद्धारका लागि सबै सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन निर्णय गरिएको थियो । यता रेडक्रस भोजपुरले हाल तीनसय परिवारका लागि तत्कालीन उद्धारका सामग्री तयारी गरेको जनाएको छ भने जिल्ला अस्पताल भोजपुरले आगामी एक महिनाका लागि सबै प्रकारको औषधि मौज्दात रहेको जनाएको छ । त्यस्तै, खाद्य संस्थानले गोदाममा छ सय ३५ क्विन्टल चामल मौज्दात रहेको बताएको छ ।